सम्पादकीय: बुद्ध लामा र बहुसंख्यक भूगोलको प्रतिनिधित्व

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं. २ मा फल्गुण २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन यसपटक सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र होइन । यो निर्वाचन प्रतिनिधित्वको चरित्र, राज्यको शक्ति संरचना र नेपाली राजनीतिमा समावेशीताको वास्तविक अभ्यास कति गहिरो छ भन्ने विषयको खुला परीक्षण हो । यो क्षेत्रलाई नजिकबाट बुझ्नेहरूका लागि एउटा तथ्य निर्विवाद छ । मकवानपुर–२ तामाङ र चेपाङ समुदायको बहुसंख्यक बसोबास भएको भूगोल हो । तर विगतका संसदीय प्रतिनिधित्वको इतिहास हेर्दा, यही बहुसंख्यक समुदाय निर्णय तहमा निरन्तर अल्पप्रतिनिधित्वमा सीमित हुँदै आएको छ । चुनावमा मतदाता यिनै समुदाय, तर संसदमा पुग्ने अनुहार प्रायः फरक सामाजिक संरचनाबाट यो विसंगति नै मकवानपुर–२ को राजनीतिक पीडा हो ।

प्रतिनिधित्व किन मुद्दा बनिरहेको छ ?

राजनीतिक प्रतिनिधित्व केवल जातीय पहिचानको प्रश्न होइन, अनुभूति र पहुँचको प्रश्न पनि हो । विकट भूगोल, दुर्गम बस्ती, कमजोर पूर्वाधार र सीमित राज्य उपस्थिति भोगिरहेको क्षेत्रका लागि प्रतिनिधि त्यही भूगोलबाट आएको हुनुको अर्थ फरक हुन्छ । सडक किन आवश्यक छ, विद्यालय किन टाढा छ, स्वास्थ्य चौकी किन जनशक्ति विहीन छ । यी प्रश्न कागजमा होइन, दैनिक जीवनमा भोग्ने विषय हुन् । यही कारण मकवानपुर–२ मा प्रतिनिधित्वको बहस बारम्बार उठ्ने गरेको छ । स्थानीय बासिन्दाहरूको गुनासो एउटै रहँदै आएको सुनिन्छ,
“हामीलाई संसदमा बोल्ने मान्छे चाहिएको छ, तर हाम्रो जीवन नबुझेको आवाज पुग्छ ।”

परम्परागत उम्मेदवारी र दोहोरिने संरचना

यसपटक पनि अधिकांश दलहरूले परम्परागत राजनीतिक संरचना दोहोर्‍याउँदै बाहुन–क्षेत्री समुदायका उम्मेदवार अघि सारेका छन् । यो अभ्यास नयाँ होइन । राष्ट्रिय राजनीतिमा पहुँच, स्रोत र नेटवर्क बलियो भएका समुदायहरूबाट उम्मेदवार छनोट हुनु स्वाभाविक जस्तै बनाइएको छ । तर प्रश्न उठ्छ, जब कुनै निर्वाचन क्षेत्रमा जनसंख्यागत बहुमत फरक समुदायको छ, त्यहाँ सधैं एउटै सामाजिक संरचनाबाट प्रतिनिधि चयन हुनु लोकतान्त्रिक न्यायसँग मेल खान्छ ?

कांग्रेसको फरक निर्णय : रणनीति कि राजनीतिक संकेत ?

यही सन्दर्भमा नेपाली कांग्रेसले मकवानपुर–२ बाट मकवानपुर जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाएको निर्णय अर्थपूर्ण देखिन्छ । यो निर्णयलाई केवल चुनावी रणनीति भनेर खारेज गर्न मिल्दैन । यसले बहुसंख्यक जनताको भूगोल र पहिचानलाई स्वीकार गर्ने राजनीतिक संकेत पनि दिएको छ । बुद्ध लामा कुनै आकस्मिक रूपमा अघि सारिएको नाम होइनन् । उनी लामो समयदेखि यही क्षेत्रको राजनीति, संगठन र सामाजिक अभियानसँग भुइँ तहबाट जोडिएका नेता हुन् । पार्टी संगठन सुदृढीकरणदेखि स्थानीय समस्या उठानसम्म उनले निरन्तर सक्रिय भूमिका खेलेको स्थानीय कांग्रेस कार्यकर्ताहरू नै बताउँछन् ।
एक स्थानीय सुरेन्द्र लामा भन्छन्, “उहाँ कार्यक्रम सकिएपछि फर्किने नेता होइन, समस्या सकिएपछि मात्र फर्किन खोज्ने मान्छे हो ।”

‘भिजेको नेता’ हुनुको अर्थ

राजनीतिमा ‘भिजेको नेता’ भन्नुको अर्थ भाषणमा होइन, सम्बन्धमा देखिन्छ । बुद्ध लामाको सन्दर्भमा यही कुरा धेरैले दोहोर्‍याउने गरेका छन् । दुर्गम गाउँ, कच्ची बाटो, चेपाङ बस्ती, तामाङ गाउँ—यी उनका नियमित सम्पर्क क्षेत्र मानिन्छन् । राजनीतिक विश्लेषकहरू भन्छन्, यस्ता भूगोलमा प्रतिनिधि कागजी योजनाभन्दा निरन्तर दबाब सिर्जना गर्न सक्ने क्षमता बोकेको हुनुपर्छ । संसदमा पुगेर बोल्ने मात्र होइन, मन्त्रालय र निकायसम्म धाउने अभ्यास आवश्यक हुन्छ । बुद्ध लामाको राजनीतिक शैली यही व्यवहारिकतासँग जोडिएको दाबी गरिन्छ ।

चुनावको केन्द्रमा मतदाता

यो निर्वाचनमा मतदाताको भूमिका अत्यन्त महत्वपूर्ण छ । मकवानपुर–२ का मतदाताले यसपटक पार्टीको झण्डाभन्दा पनि प्रतिनिधित्वको गुणस्तर हेर्ने अवस्था छ । यो चुनावले भविष्यमा दलहरूलाई उम्मेदवार चयन गर्दा संख्यागत यथार्थ र भूगोलप्रतिको संवेदनशीलता कति आवश्यक छ भन्ने सन्देश दिनेछ । यदि बहुसंख्यक समुदाय भएको क्षेत्रमा त्यसै समुदायबाट आएको, भिजेको र स्वीकार्य उम्मेदवारलाई मतदाताले समर्थन गरे, त्यसले राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने छ । यदि उल्टो भयो भने, प्रतिनिधित्वको बहस अझै लामो समयसम्म अधुरो नै रहने संकेत हुनेछ ।

मकवानपुर–२ : स्थानीय चुनाव, राष्ट्रिय अर्थ

यो निर्वाचनलाई केवल स्थानीय प्रतिस्पर्धाका रूपमा हेर्नु गल्ती हुनेछ । मकवानपुर–२ को चुनावले नेपाली लोकतन्त्रमा समावेशीताको व्यवहारिक अभ्यास कति अगाडि बढेको छ भन्ने प्रश्नको उत्तर खोज्दैछ । राजनीति केवल सत्ता हस्तान्तरणको प्रक्रिया होइन । यो आवाज हस्तान्तरणको प्रक्रिया पनि हो । बहुसंख्यक जनताको आवाज संसदसम्म पुग्छ कि पुरानै संरचनामा अड्किन्छ—यसको निर्णय फल्गुण २१ गते हुनेछ । अन्ततः, मकवानपुर–२ को मतपेटिकाले केवल सांसद चयन गर्ने छैन । यसले तय गर्नेछ राजनीतिमा संख्या बोल्छ कि पहुँच, भूगोल बोल्छ कि परम्परा र भुइँको आवाज राज्यको केन्द्रसम्म पुग्छ कि पुग्दैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.