मकवानपुर । श्री जनजाती उद्यान प्राथमिक विद्यालयमा अध्ययनरत ECD देखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई OPD Medium English पुस्तक वितरण गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा मनहरी गाउँपालिका–६ निवासी तथा नेपाली कांग्रेसका युवा नेता मानबहादुर लामा (मनोज) को व्यक्तिगत आर्थिक सहयोगमा पुस्तक वितरण गरिएको हो ।
विद्यालयका साना विद्यार्थीहरूको अंग्रेजी भाषाप्रतिको रुचि वृद्धि गर्ने तथा शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले पुस्तक वितरण गरिएको बताइएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय समाजसेवीहरूको समेत सहभागिता रहेको थियो ।
पुस्तक वितरण कार्यक्रममा सहभागीहरूले गुणस्तरीय शिक्षाको विकासमा यस्ता सहयोगात्मक कार्यले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । विद्यार्थीहरूले नयाँ पुस्तक प्राप्त गरेपछि उत्साहित हुँदै अध्ययनप्रति थप प्रेरणा मिलेको बताएका छन् ।
विद्यालय प्रशासनले शैक्षिक क्षेत्रको विकासका लागि सहयोग पुर्याएकोमा मानबहादुर लामाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक पहलहरू निरन्तर रहोस् भन्ने अपेक्षा गरेको छ ।
शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा यस्ता सहयोगले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।










