कतिपय बहुमुल्य बस्तुहरु पाएर गुमाउनु भन्दा नपाएकै बेश हुन्छ । कम्तीमा अनगिन्ती सपना सजाएका त हुदैनन् ? पाएपछी कति हो कति सपना देखिदोरहेछ । भए भरका सपनाका ओछ्यान बिछ्याइएर बुर्कुसी मार्दै यता उता गर्दोरहेछ मन । कहिलेकाही सपनामा धेरै पैसा पाएर रमाई रहदा एक्कासी बिउझिउन पुग्दा छेउमा त्यो पैसा नदेखेर खल्लो लागेको जस्तै हुदोरहेछ, कोही नजिक आएर टाढा गई दिदा ।
मैले धेरै मान्छेले जिन्दगीको परिभाषा गरेको पढेको छु । ऊनीहरुको ब्यक्तिगत विचारसग कहिलेकाही सहमत भएको छु, अनि कहिलेकाही असन्तुष्ट पनि । यो क्रममा मैले पनि कत्ति पटक जिन्दगी भनेको यस्तो चाहिँ होला भनेर अड्कल गर्ने काम गरिरहे । यसो गर्दा मैले पनि धेरै परिभाषा बनाउन पुगे । कति पछि पछिसम्म पनि चित्त बुझथ्यो, अनि कती चाहिँ एक पलमै हैन जस्तो लागेर आउथ्यो ।
मलाई कहिलेकाही जिन्दगी भनेको उदासी बगरमा बसालिएको बेदनाहरुको सुकुम्बासी बस्ती जस्तो मात्रै लाग्थ्यो । कारण हरेक साझ कसैले बस्ती उठाउने पो हो कि भने त्रास लिएर निदाउनु पर्ने । अनि, बिहना कसैले त्यस्तो नगरेको सत्य लिएर फिस्सा हास्नु पर्ने । अनि यसै गरि पुरै उमेर कुन चाहिँ नेताले लालपुर्जा दिलाई दिन्छ भनेर आस गरेर बाची रहनु पर्ने । हो, त्यस्तै लाग्थ्यो मलाई जिन्दगी । किनकि भरे खुशीको सिरान हालेर सुते पनि भोलि चिसो भुइँमा लम्पसार परिरहेको हुन्छ जीउ ।
जिन्दगीमा यो खुशी भन्ने चिज किन जिस्काउन मात्रै आउछन् होला ? किन यसरी मात्रै आउँछ होला खुशी, एकै छिनमा हराउने गरि ।
मैले सम्बन्धमा नै साध लागी सकेपछि फेरि खोलापारि बसेर मन उतै पठाई रहनु हुदैन थियो । तर पनि भुलबस वा जानीजानी त्यसै गरिरहन्छ मन । हुन सक्छ त्यस्तो गर्नुमा नै आनन्द मिल्यो होला यो मनलाई । जुन बिस्तारै आदात बनेको छ, र बिस्तारै बयरले जस्तै मन दुखाउन थाल्दै छ पनि । हो यसरी नै पटक पटक बल्झिरहेको छ मेरो खिल परि सकेको मन ।
कहिलेकाही त यस्तो लाग्छ कि यो मन पनि कुनै दिन संग्रहालयमा सङ्ग्रहित हुनेछ । अनि मान्छेहरुले तिमी बसेकी भु-भाग अबलोकन गर्ने छन । अनि, त्यतिबेला सायद भन्ने छन, यो मनमा त्यसपछि अरु कोहि बस्न पाएनन् रे भनेर । यस्तो अचम्मित कुराहरु पनि आउँछ अहिले काहीँ मनमा । जिन्दगीमा कति पटक आफुले मन परेकाहरुले आफुलाई मन पराएनन, अनि कति पटक आफुलाई मन पराउनेहरुलाई आफुले मन पनि मन पराएनन । जिन्दगी यसै गरि सधैं असन्तुलन मात्रै भईरह्यो । तर म भने फेरि पनि सन्तुलन बनाउन हर पल हर समय लगातार र निरन्तर लागिरहेको छु ।
✍️ अशोक निर्दोष तामाङ








