जिन्दगीका असन्तुलन र अधुरो सन्तुलन

✍️ हजुरको नबिना लामा, हेटौंडा 

कतिपय बहुमूल्य वस्तुहरू पाएर गुमाउनु भन्दा नपाएकै बेस हुन्छ । कम्तीमा, नपाउँदासम्म त अनगिन्ती सपना सजाइन्छन् । तर पाएपछि ती सपनाहरूको सीमा नै नहुने रहेछ । भएको सबै सपना ओछ्यानमा बिछ्याएर मनले बुर्कुसी मारिरहन्छ । एकातिर खुसीको बादल, अर्कातिर बिथोलिएको मन ।

कहिलेकाहीँ सपनामा धेरै पैसा पाएर रमाइरहँदा ब्यूँझिँदा छेउमा त्यो पैसा नदेखिएर जस्तो खल्लो लाग्छ । त्यसरी नै कोही नजिकिँदा फेरि टाढा जाँदा पनि मन त्यस्तै रित्तोपनले भरिन्छ । मैले धेरै मान्छेहरूबाट जिन्दगीका परिभाषा पढेको छु । कहिलेकाहीँ ती विचारहरूसँग सहमत भएँ, कहिलेकाहीँ असन्तुष्ट पनि । त्यसै क्रममा मैले पनि कहिल्यै–कहिल्यै “जिन्दगी भनेको यस्तो होला” भनेर अड्कल गर्न खोजिरहेँ ।

कहिले ती परिभाषाले चित्त बुझ्थे, कहिले क्षणभरमै गलत जस्तो लाग्थे । कहिलेकाहीँ मलाई जिन्दगी भनेको उदासीको बगरमा बसालिएको बेदनाहरूको सुकुम्बासी बस्ती जस्तो लाग्थ्यो । जहाँ प्रत्येक साँझ कसैले बस्ती उठाउने डरले निदाउनुपर्छ, र बिहान कसैले उठाएको रहेनछ भन्ने राहतमा फिस्स हाँस्नु पर्छ ।

र त्यसरी नै हामी उमेरभर “कुन नेताले लालपुर्जा दिलाउँछ” भनेर आशाको भरमा बाँचिरहन्छौं । किनकि यहाँ, हिजो खुसीको सिरान हालेर सुतेको मान्छे भोलिपल्ट चिसो भुइँमा लम्पसार परेको भेटिन्छ ।

खुसी पनि कस्तो चिज, जिन्दगीमा जिस्काउन मात्रै आउँछ । एकछिन हाँसाउँ छ, अनि हराउँ छ । सम्बन्धमा मन गाँठो परेपछि पनि मन खोलापारि पठाइरहनु हुदैन थियो सायद, तर के गर्ने, यो मनले त त्यसै गर्छ । हुन सक्छ, त्यसैमा कुनै अज्ञात आनन्द पाउँछ । तर त्यो आनन्द पनि बिस्तारै बयरको काँडा झैँ पीडा बनिँदै जान्छ ।

हो, यसरी नै बल्झिरहेको छ मेरो खिलिएको मन । कहिलेकाहीँ लाग्छ, यो मन कुनै दिन संग्रहालयमा राखिनेछ, र मानिसहरूले त्यो ठाउँ हेरेर भन्ने छन्, “यो मनमा त त्यसपछि अरू कोही बस्नै पाएन रे ।”

अचम्मका कुरा आउँछन् अहिले मनमा जिन्दगीमा कति पटक जसलाई मन पराएँ, उनीहरूले मलाई मन पराएनन्, र जसले मलाई मन पराए, म तिनलाई मन पराउन सकिनँ । यस्तै असन्तुलनले भरिएको छ जिन्दगी, तर पनि म सन्तुलन बनाउन लागिपरेको छु ।
लगातार…….!

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.