मकवानपुरमा कम्युनिस्टको लालकिल्ला भत्काउन सफल बनेका बानियाँ मुख्यमन्त्री बने

मकवानपुर, साउन २० गते । बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँ मकवानपुरबाट कम्युनिस्टहरुको लालकिल्ला तोडेर राजनीतिमा उदाएका एउटा सफल निर्माण व्यवसायी हुन् । बानियाँको राजनीतिक भूगोल भने मकवानपुरको पश्चिम भेग पर्दछ । मकवानपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ बाट दोहारिएर प्रदेशसभा सदस्यमा निर्वाचित बनेका बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका छन् ।

बानियाँले २०७४ को प्रदेशसभामा मकवानपुर २ को ‘ख’ बाट कम्युनिस्टहरुको लालकिल्ला भत्काउन सफल बनेका थिए । २०७४ सालमा नेकपा एमालेका उम्मेदवार राजाराम स्याङ्तान र २०७९ मा एमालेकै अर्का नेता लालबहादुर थापालाई पराजित गर्दै प्रदेशसभामा प्रवेश पाएका बानियाँ बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका पहिलो र तेस्रो नेता समेत हुन् । २०१५ सालदेखी मकवानपुरमा कम्युनिस्टहरुले एकछत्र राज गर्दै गएको बेलामा २०७४ मा बानियाँले त्यो कम्युनिस्टहरुको लालकिल्ला भत्काएको थियो ।

बानियाँ नेपाली कांग्रेस मकवानपुरको जिल्ला सदस्य हुँदै पार्टी राजनीतिमा सक्रिय बनेका नेता हुन् । २०७४ मा मकवानपुर २ (ख) बाट बानियाँले नेकपा एमालेका उम्मेदवार राजाराम स्याङ्तानलाई १ हजार ४ सय ११ मतले हराउँदै मकवानपुरमा कांग्रेसको झन्डा फराएका थिए । उनले १९ हजार २ सय ४५ मत पाउदा स्याङ्तानले भने १७ हजार ८ सय ३४ मत मात्रै प्राप्त गरेका थिए । त्यस्तै एमालेले उक्त क्षेत्रमा एकछत्र राज गर्दै आईरहेको परिस्थितिमा पनि स्याङ्तानकै क्षेत्रमा होमिएर बानियाँ विजयी बनेका थिए ।

हेटौँडा उपमहानगरपालिका १८ हर्नामाडीमा बुबा क्षेमबहादुर बानियाँ र आमा प्रेमकुमारी बानियाँको कोखबाट जन्मिएका बानियाँ ३५ वर्ष भन्दा बढी समयदेखी नेपाली कांग्रेस मकवानपुरको राजनीतिमा सक्रिय छन् । बानियाँले प्रमाणपत्र तहसम्मको अध्यनन गरेका छन् । उनी २०४६ सालमा मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति बनेका थिए । २०५१ सालमा भने नेविसंघ जिल्ला सहसचिव, २०५३ मा तरुण दल मकवानपुरको सचिव, २०५६ मा तरुण दल मकवानपुरको सभापति र २०५१ सालमा कांग्रेस महासमिति सदस्य बनेका थिए ।

२०७२ सालमा नेपाली कांग्रेस मकवानपुरको सभापतिमा निर्वाचित बनेपछी २०७० मा मकवानपुर १ बाट निर्वाचित भएपछि २०७३ मा संस्कृति, पर्यटन तथा नगरिक उड्डयन राज्यमन्त्री र २०७४ मा गृहराज्यमन्त्री समेत बनेका थिए ।बीचमा बहादुरसिंह लामाले उनलाई संसदीय दलको नेतामा पराजित गरे पनि साउनको दोस्रो साता उनी फेरि लामालाई पराजित गरेर संसदीय दलको नेता हुँदै २०८२ चैत ७ गतेसम्मका लागि ७ महिना १९ दिन बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति पाएका छन् । साथै चैत ७ गतेदेखि भने बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एमालेलाई हस्तान्तरण गर्नु पर्ने केन्द्रीय सहमति रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.