मकवानपुर, असोज ०५ गते । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा पत्रकार जगदीश खरेल मन्त्री बन्ने भएका छन् । निर्वाचन तयारीलाई ध्यानमा राख्दै सरकारलाई पूर्णता दिने क्रममा खरेललाई मन्त्री बनाउने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।
खरेलले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने पक्का भएको छ । हाल उनी इमेज खबरका प्रधान सम्पादकका रूपमा कार्यरत छन् ।
प्रधानमन्त्री कार्कीले सञ्चार मन्त्रालयको जिम्मेवारीका लागि अन्य केही प्रतिष्ठित पत्रकारहरूसमेतलाई प्रस्ताव गरेकी थिइन् तर उनीहरूले अस्वीकार गरेका थिए । अन्ततः लामो पत्रकारिता अनुभव र जनसञ्चार क्षेत्रमा सक्रिय भूमिकाका कारण खरेल रोजिएका हुन् ।
खरेलको प्रवेशलाई सञ्चार क्षेत्रका विज्ञहरूले “मिडियाको वास्तविक आवश्यकता र राज्यको नीतिमा सशक्त पुल बन्ने अवसर” का रूपमा व्याख्या गरेका छन् ।











