मकवानपुर — कुरेलीमा भोलिदेखि सुरु हुने “प्रथम जय नेपाल खड्ग स्मृति कप २०७९” को तयारी पुरा भएको छ । उक्त प्रतियोगिताको भव्य उद्घाटन समारोहमा प्रमुख अतिथि रूपमा नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुन उपस्थित रहने भएका छन् ।
आयोजक समितिका अनुसार उद्घाटन कार्यक्रम भोलि (२३ असोज २०८२) का दिन कुरेली परिसरमा आयोजना गरिने छ । यस कार्यक्रममा स्थानीय समाजसेवी, जनप्रतिनिधि, खेलप्रेमी र युवाहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ ।
प्रतियोगिता खेलकुदको माध्यमबाट समुदायमा एकता, स्वास्थ्य र अनुशासनको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको हो । आयोजक समितिका सदस्यले जनाए अनुसार, स्मृति कपमा स्थानीय टोलस्तरका विभिन्न फुटबल टिमहरूले सहभागिता जनाउने छन् ।
आयोजक समितिका एक सदस्यले भने, “हाम्रो उद्देश्य खेलकुदमार्फत युवाहरूलाई सकारात्मक दिशामा प्रेरित गर्नु हो । अमरसिंह पुन जस्ता अनुभवी नेताको उपस्थितिले कार्यक्रमको गौरव अझ बढाउने छ ।”
उद्घाटनपछि पहिलो खेल सुरु हुने र विजेता टोलीलाई आकर्षक ट्रफी तथा पुरस्कार प्रदान गरिने बताइएको छ । साथै कार्यक्रमको सबै तयारी सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।








