मकवानपुर । नव वर्ष २०८३ को अवसर पारेर हेटौँडा उपमहानगरपालिका–६ मा ५ किलोमिटर खुला दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल तरुण दल वडा नं. ६, हेटौँडाको आयोजनामा “स्वस्थ जीवन, स्वच्छ समाज” भन्ने नारासहित बैशाख १ गते बिहान ६ बजे उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिता चौघडा, पिपलबोट क्षेत्रबाट सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले आवश्यक कागजातसहित आफ्नो नाम दर्ता गराउन सक्नेछन् । दर्ताका लागि नागरिकताको प्रतिलिपि वा बसाइँसराइको कागजात आवश्यक पर्ने छ भने शुल्क रु. ३०० तोकिएको छ । साथै, सहभागीले एक प्रति फोटो पनि बुझाउनु पर्ने छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगदसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । जस अनुसार प्रथम हुनेलाई रु. १५,०००, द्वितीयलाई रु. १०,००० र तृतीयलाई रु. ५,००० सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि वेङ्कटेश छापाखाना, हेटौँडा–२ (कांग्रेसचोक) तथा नेपाली कांग्रेस पार्टी कार्यालय, चौघडामा सम्पर्क गर्न सकिने बताइएको छ ।








