मकवानपुर, साउन १६ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । बिहीबार साँझ नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेपछि लामा राजीनामा दिन तयार भएका हुन् ।
शुक्रबार आफू निकटका सांसदहरूको सल्लाहमा मुख्यमन्त्री लामाले राजीनामा दिने निर्णय गरेको सांसद तीर्थ लामाले बताए । लामाका अनुसार सभापति देउवाले बिहीबार साँझ आफ्नै निवास बालुवाटार बोलाएर कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित लामालाई बहुमतमा सरकार चलाउन पर्ने भन्दै मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए । त्यसपछि पार्टीको निर्देशन मान्नुको विकल्प नभएको भन्दै मुख्यमन्त्री लामाले राजीनामा दिने तयारी गरेको सांसद तीर्थ लामाले बताए ।
‘संसदीय दलको नेतामा पराजित भएपछि र त्यसमा पनि पार्टी सभापतिले नै राजीनामा दिन निर्देशन दिँदादिँदै आफ्नै सुरमा लाग्नुहुन्न भन्ने सल्लाह भयो’, सांसद लामाले भने, ‘मुख्यमन्त्रीज्यूले भ्याए आजै, नभ्याए भोलि हेटौँडा पुगेर पत्रकार सम्मेलनमार्फत राजीनामा दिने तयारीमा लागेको छ । मार्गप्रशस्त गर्न उहाँ तयार हुनुहुन्छ।’ सांसद लामाले भने ।’











