हेटौंडा बसपार्कमा ‘Xtreme’ को छ्यापछ्याप्ती बिज्ञापन, बढ्दै स्वास्थ्य चिन्ता

हेटौंडा । हेटौंडा बसपार्क क्षेत्रमा यतिबेला एउटा दृश्यले धेरैको ध्यान तानेको छ । जहाँ हेरे पनि ‘Xtreme Energy Drink’ का ठूलाठूला होर्डिङ बोर्ड, डिजिटल प्रचार सामग्री र विभिन्न प्रचारात्मक सन्देशहरू देख्न सकिन्छ । बसपार्कमा दैनिक हजारौं यात्रु, विद्यार्थी तथा युवाहरूको आवतजावत हुने भएकाले कम्पनीले यही स्थानलाई आफ्नो मुख्य बजार बनाएको देखिन्छ ।

युवाहरू के भन्छन् ?

हेटौंडा बसपार्कमा भेटिएका २२ वर्षीय एक युवा भन्छन्, “लामो यात्रा गर्दा वा राति धेरै काम गर्नुपर्दा ‘Xtreme’ पिउँदा शरीरमा तुरुन्तै ऊर्जा आएको महसुस हुन्छ । त्यसैले बेला–बेलामा सेवन गर्ने गरेको छु ।”
त्यस्तै, एक कलेज विद्यार्थीको भनाइ छ, “साथीभाइसँग बस्दा वा खेलकुदपछि यो पेय पिउने चलन बढेको छ । विज्ञापन धेरै देखिने भएकाले पनि एकपटक चाख्न मन लाग्छ ।”

अर्का एक युवा चालक भन्छन्, “राति गाडी चलाउँदा निद्रा भगाउन र ताजगीका लागि ऊर्जा पेय सेवन गर्ने गर्छौं । तर यसको धेरै सेवनले स्वास्थ्यमा असर गर्छ भन्ने कुरा धेरैलाई थाहा छैन ।” तर स्वास्थ्य क्षेत्रका जानकारहरू भने ऊर्जा पेय पदार्थको नियमित तथा अत्यधिक सेवनप्रति सचेत रहन आग्रह गर्छन् । उनीहरूका अनुसार क्षणिक ऊर्जा र ताजगीको अनुभूतिका लागि यस्ता पेय पदार्थमा निर्भर हुनु दीर्घकालीन रूपमा स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

पछिल्लो समय युवापुस्तामाझ ‘Xtreme Energy Drink’ निकै लोकप्रिय बन्दै गएको छ । विशेष गरी राति जाग्राम बस्ने, लामो यात्रा गर्ने, खेलकुदमा सहभागी हुने वा थकान महसुस गर्ने युवाहरूले यसलाई ‘तत्काल ऊर्जा दिने पेय’ को रूपमा प्रयोग गर्न थालेका छन् । कतिपयले त दैनिक रूपमा सेवन गर्ने गरेको पनि पाइएको छ ।

तर स्वास्थ्य क्षेत्रका जानकारहरूले भने यस्तो प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनिहरूका अनुसार अधिकांश ऊर्जा पेय पदार्थमा उच्च मात्रामा क्याफिन, चिनी तथा अन्य उत्तेजक तत्वहरू मिसाइएको हुन्छ, जसको अत्यधिक सेवनले स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पुर्‍याउन सक्छ ।

स्वास्थ्यमा के–कस्ता असर पर्न सक्छ ?

स्वास्थ्य विज्ञहरूका अनुसार ऊर्जा पेय पदार्थको अत्यधिक सेवनले निम्न समस्या निम्त्याउन सक्छः

१, उच्च रक्तचापको जोखिम बढ्नु

२, मुटुको धड्कन असामान्य हुनु

३, अनिद्रा र मानसिक तनाव बढ्नु

४, अत्यधिक चिन्ता र चिडचिडापन देखिनु

५, मधुमेह तथा मोटोपनाको जोखिम बढ्नु

६, मिर्गौला र कलेजोमा नकारात्मक असर पर्नु

७, किशोर–किशोरीमा लत बस्ने सम्भावना बढ्नु

चिकित्सकहरू भन्छन्, “ऊर्जा पेय पदार्थले केही समयका लागि शरीरलाई सक्रिय बनाएको महसुस गराए पनि यसको नियमित र अत्यधिक सेवन स्वास्थ्यका लागि बिस्तारै असर गर्ने विष समान हुन सक्छ ।”

बसपार्कमा किन बढ्दै छ आकर्षण ?

हेटौंडा बसपार्क मकवानपुरको प्रमुख यातायात केन्द्र हो । यहाँ दैनिक हजारौं यात्रु, सवारी चालक, सहचालक र विद्यार्थीहरूको भीड लाग्ने गर्दछ । यही कारण कम्पनीहरूले आक्रामक रूपमा विज्ञापन गरेर युवालाई लक्षित गरिरहेका छन् । आकर्षक पोस्टर, चम्किला रङ र ‘एनर्जी’ को सन्देशले विशेषगरी किशोर र युवाहरूलाई प्रभावित बनाइरहेको देखिन्छ ।

स्थानीय बासिन्दाहरूले पनि अत्यधिक विज्ञापनले युवाहरूलाई यस्ता पेय पदार्थतर्फ आकर्षित गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले स्वास्थ्यमा पर्ने असरबारे व्यापक जनचेतना फैलाउन र सम्बन्धित निकायले यस्ता उत्पादनको विज्ञापन तथा बिक्रीमा आवश्यक नियमन गर्नुपर्ने बताएका छन् ।

सचेत बन्न आग्रह

स्वास्थ्यकर्मीहरूका अनुसार पर्याप्त निद्रा, सन्तुलित आहार, नियमित व्यायाम र प्रशस्त पानीको सेवन नै शरीरलाई स्वस्थ र ऊर्जावान राख्ने सबैभन्दा सुरक्षित उपाय हो । उनीहरूले ‘तत्काल ऊर्जा’ को लोभमा स्वास्थ्यलाई जोखिममा नपार्न युवापुस्तालाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.