स्वास्थ्य सेवामा चम्किए अध्यक्ष ठाकुरराम तितुङ, बने प्रशंसाको पात्र

मकवानपुर । मनहरी गाउँपालिकामा अवस्थित मनहरी अस्पतालमा पाँच जना डाक्टरले सेवा दिन थालेका छन् । यससँगै स्थानीयस्तरमा स्वास्थ्य सेवा थप सशक्त र सहज बन्ने अपेक्षा गरिएको छ ।

पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलको विशेष चासो र पहलमा डाक्टर पठाउने कार्य सम्पन्न भएको हो । यसैबीच, स्थानीय तहबाट अस्पताललाई व्यवस्थित बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका मनहरी गाउँपालिका–७ का वडाध्यक्ष एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ठाकुरराम तितुङको नेतृत्वमा अस्पतालले नयाँ स्वरूप लिएको हो ।

अध्यक्ष तितुङको पहलमा अस्पतालमा आवश्यक जनशक्ति अभाव समाधान गर्न करारमा २५ जना कर्मचारी नियुक्त गरिएको छ । अस्पतालमा भौतिक संरचना, स्वच्छता, प्रशासनिक व्यवस्था र सेवा प्रणालीमा समेत सुधार भइरहेको देखिन्छ ।

मनहरी अस्पतालले मनहरी गाउँपालिकाका वडा नं. ६, ७, ८, ९ का साथै कैलाश र राक्सिराङ गाउँपालिकाका बासिन्दाका लागि पनि सहज स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । स्थानीयबासीले अब नजिकमै विशेषज्ञ स्वास्थ्य सेवा पाउनेमा खुशी व्यक्त गरेका छन् ।

अध्यक्ष तितुङले निकट भविष्यमा अस्पताललाई २४ घण्टा आपतकालीन सेवा उपलब्ध हुने संस्थाको रूपमा विस्तार गर्ने योजना अघि सारेका छन् । उनका अनुसार, “स्थानीय तहकै पहलमा स्वास्थ्य सेवा सुदृढ पार्न सकिन्छ भन्ने उदाहरण मनहरी अस्पताल बन्ने छ ।”

स्थानीय सेवाग्राहीहरुले अब उपचारका लागि टाढा धाउन नपर्ने भएको भन्दै वडाध्यक्ष तितुङ र पूर्वमन्त्री पौडेलको प्रशंसा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.