मकवानपुर । कैलाश गाउँपालिका–७ स्थित ङिको स्वास्थ्य चौकी ताम्लाङमा हरेक महिनाको २२ गते गर्भवती महिलाहरूका लागि भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा सञ्चालन हुँदै आएको छ । ग्रामीण भेगमै यस्तो सेवा उपलब्ध हुन थालेपछि स्थानीय गर्भवती महिलाहरूलाई उल्लेखनीय राहत पुगेको छ ।
यस सेवाबाट विशेषगरी कैलाश–७ र राक्सिराङ–४ का गर्भवती महिलाहरू प्रत्यक्ष लाभान्वित भएका छन् । यसअघि सामान्य स्वास्थ्य परीक्षण तथा गर्भ अवस्थाको जाँचका लागि मनहरी वा हेटौंडासम्म जानुपर्ने बाध्यता थियो । दुर्गम भौगोलिक अवस्था, यातायातको अभाव र आर्थिक समस्या कारण धेरै महिलाहरू समयमै जाँच गराउन नसक्ने अवस्था समेत रहेको थियो ।
तर, कैलाश गाउँपालिकाले ‘ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम’ सञ्चालनमा ल्याएपछि स्थानीय स्तरमै नियमित सेवा उपलब्ध हुन थालेको हो । यसले गर्भवती महिलाहरूलाई समयमै स्वास्थ्य जाँच, शिशुको अवस्था थाहा पाउने सुविधा र सम्भावित जोखिमको पहिचान गर्न सहयोग पुर्याइरहेको छ ।
स्थानीय महिलाहरूका अनुसार पहिले सानो जाँचका लागि पनि टाढा जानुपर्दा समय, पैसा र शारीरिक दुःख सबै सहनु पर्थ्यो । अहिले भने आफ्नै नजिकै स्वास्थ्य चौकीमा सेवा पाउँदा निकै सहज भएको उनीहरू बताउँछन् ।
स्वास्थ्यकर्मीहरूका अनुसार नियमित भिडियो एक्सरे सेवाले गर्भावस्थामा देखिन सक्ने जटिलताहरू समयमै पत्ता लगाउन मद्दत पुग्नेछ । यसबाट मातृ तथा शिशु मृत्युदर घटाउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
कैलाश गाउँपालिकाले ग्रामीण क्षेत्रका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ यस्तो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । आगामी दिनमा सेवा अझ विस्तार गर्ने योजना रहेको गाउँपालिकाको भनाइ छ ।
स्थानीय तहको यस्तो पहलले दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै समग्र स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।










