मकवानपुर । मनहरी शाखा विद्युत कार्यालयको शौचालय भोला सेवन गरेर भित्ताभरि थुकेको, दुर्गन्ध र फोहोरले दयनीय बनेको भन्दै गएको सेवाग्राहीहरूले गुनासो गरेका छन् । कार्यालय परिसरमा दैनिक रूपमा सेवाका लागि आउने नागरिकहरूले यस्तो अस्वच्छ वातावरणमा सेवा लिनु पर्ने बाध्यता रहेको बताएका छन् ।
मनहरी ७ का मिलन लामा शौचालयको अवस्थाबारे भन्छन्, “सरकारी कार्यालयमा यति फोहोर देख्दा नै मन खिन्न हुन्छ । भोला खाएर भित्ताभरि थुकेको दाग देखेर झनै निराश हुन्छौँ ।”“दैनिक सयौँ मानिस आउँछन्, तर शौचालयको अवस्थाले कार्यालयको छवि नै बिग्रिएको छ। सफाइमा ध्यान नदिएको स्पष्ट देखिन्छ। सेवा लिन आउँदा शौचालय प्रयोग गर्नै नसकिने अवस्था छ । दुर्गन्ध, फोहोर र थुकका दागले शौचालयको सौर्न्दर्य सखाप छ ।
अर्को सेवाग्राही मनहरी ६ का सुशीला खडकाले “भोला सेवन गरेर भित्ताभरि थुकेर बनाइएको फोहोर देख्दा, सचेतना र अनुशासन दुवैको कमी देखिन्छ । यस्तो अवस्था तुरुन्त सुधारिनु पर्छ । ”सेवाग्राहीहरूले कार्यालय प्रशासनलाई तत्काल शौचालय सफाइ, नियमित अनुगमन, र शौचालयभित्र मदिरा वा ‘भोला’ सेवन तथा थुक्ने प्रवृत्ति रोक्न कडा नियम लागू गर्न माग गरेका छन् ।
साथै सार्वजनिक सेवा दिने सरकारी कार्यालय भएकाले स्वच्छता, स्वास्थ्य र सेवाग्राहीको सम्मान प्राथमिकतामा राख्नु पर्नेमा सर्वसाधारणको जोड छ ।









