बागमती प्रदेश विवादमा सभापति देउवा तटस्थ, अझ विवाद बल्झिने संकेत

मकवानपुर, साउन १३ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बागमती कांग्रेस संसदीय दलको विवादमा तटस्थ भूमिकामा देखिएका छन् । पार्टी सभापतिको रूपमा अन्तिम कार्यकाल सम्हालिरहेका देउवालाई आफ्नो समूहबाट भावी पार्टी सभापतिका रूपमा कसैलाई अघि सार्न जति सकस देखिएको छ, बागमती प्रदेश संसदीय दलको विवादमा कुनै एउटा पक्षमा लाग्न पनि उनलाई उत्तिकै सकस देखिएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामा र उनीविरुद्ध अविश्वास प्रस्तावको अभियान छेड्ने बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया दुवै देउवा निकट नेता नै हुन् । यस्तोमा देउवाका सामु कसलाई कसरी थामथुम पार्ने भन्नेमा निकै ठुलो सकस देखिन्छ हो ।

केन्द्रमा कांग्रेसका ‘सात भाइ’ भनेर चिनिएका संस्थापन पक्षकै प्रभावशाली नेताहरूले बहादुरसिंह लामालाई साथ दिँदै आएका छन् भने देउवाकै विश्वासपात्र उपसभापति पूर्णबहादुर खड्काले भने इन्द्र बानियालाई अघि सारेको चर्चा छ ।

अर्कोतिर मुख्यमन्त्री लामालाई देउवा पत्नी एवम् परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि बलियो साथ दिँदै आएको बताइन्छ । त्यसैले सकेसम्म आपसमा सहमति गरेरै विवाद टुङ्ग्याउन देउवाले दुवै पक्षलाई सुझाव दिँदै आएको बुढानीलकण्ठ स्रोतले बतायो ।

अर्कोतिर, प्रदेश सभापति बानिया संसदीय दलमा लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएसँगै उत्साहित देखिएका छन् । उनी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएर आफू मुख्यमन्त्री हुन तम्सिएका छन् ।

यद्यपि सत्ता गठबन्धन घटक नेकपा एमाले भने तत्काल मुख्यमन्त्री फेर्ने पक्षमा नरहेको स्रोत बताउँछ । एकातिर मुख्यमन्त्री बन्नका लागि प्रदेश सभापति बानियाले जोडबल तीव्र पार्ने, अर्कोतिर संविधानमा बाध्यकारी व्यवस्था नरहेको भन्दै लामाले मुख्यमन्त्री पद छाड्न नचाहने अवस्थाका कारण बागमती प्रदेशमा कांग्रेसभित्र देखिएको विवाद कहाँ पुग्छ र त्यसले कुन रूप लिन्छ भन्ने आकलन गर्न कठिन भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.