निर्माणाधीन घरमा काम गर्ने क्रममा करेन्ट लाग्दा मनहरीका एक जनाको मृत्यु

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ पोलाघारी निवासी अन्दाजी ३९ वर्षीय मङ्गल बहादुर प्रजा रहेका छन् । शनिबार साँझ करिब ५:१० बजे मनहरी–६ प्रतापपुरस्थित सुरेश मोक्तानको निर्माणाधीन नयाँ घरमा ढोका जडान गर्ने क्रममा ढोकामा ड्रिल गर्ने बेला अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

घटनापछि उनकी श्रीमती रस्ती माया प्रजाले तत्काल उपचारका लागि मनहरी अस्पताल पुर्‍याएकी थिइन् । मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो । तर उपचारकै क्रममा साँझ ६:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृतकको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ । घटनाबारे जानकारी प्राप्त हुना साथ प्रहरी चौकी सुनाचुरीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब ५–६ किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.