मकवानपुर । हेटौडा– १३ निवासी युवा किसान फेन्चु लामाले परम्परागत कृषि पद्धतिलाई पछाडि पार्दै व्यावसायिक फलफुल खेतीमार्फत उदाहरणीय सफलता हासिल गरेका छन् । शिक्षकको पेशा त्यागेर कृषि क्षेत्रमा लागेको केही वर्षमै उनले उल्लेखनीय उपलब्धि हासिल गरेका छन् ।
श्रीमतीसँग मिलेर करिब एक बिघा जमिनमा सुरु गरिएको ड्रागन फ्रुट र मेवा खेती आज चारवटा प्रजातिको ड्रागन फल उत्पादन हुने स्तरसम्म विस्तार भएको छ । उच्च बजार माग, निरन्तर मेहनत र योजनाबद्ध व्यवस्थापनका कारण उनले खेतीलाई स्थायित्व दिन मात्र सफल भएका छैनन्, वार्षिक आम्दानीसमेत उल्लेखनीय रूपमा बढाएका छन् ।
हाल फेन्चु लामाले वार्षिक झन्डै ३० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् भने ५ देखि १० लाख रुपैयाँसम्म नाफा हात पार्छन् । स्थानीय स्तरमै रोजगार सिर्जना गर्दै उनले धेरै किसानलाई प्रोत्साहन र उदाहरण प्रदान गरेका छन् ।
कृषि क्षेत्रमा देखिएको परिवर्तन र युवाहरूको आकर्षण बढिरहेको वर्तमान समयमा फेन्चु लामाको सफल यात्रा प्रेरणादायी बनेको छ ।











