मकवानपुर, असार २४ गते । कांग्रेस केन्द्रीय समितिको वैठकमा एक केन्द्रीय सदस्यको दमदार अभिव्यक्ति अहिले चर्चामा छ । केन्द्रीय सदस्य दिनेश कोइरालाले वैठकमा भावुक हुँदै पार्टीको जीवन, राष्ट्रिय राजनीति र आफ्नै व्यक्तिगत राजनीतिक जीवन बारेमा सबैको मन छुने अभिव्यक्ति दिएका थिए ।
विनोद चौधरी प्रकरणमा पनि दिनेशले निर्णायक विचार राखेका थिए । दिनेशले बोलिसक्नासाथ विनोद चौधरी आक्रोशित भएर उठेका थिए । तर, वैठक हलमा हुटिङ भएपछि चौधरीले बोल्न पाएनन् ।
के भनेका थिए दिनेशले ?
दिनेशले आफू जीवनमा चारपटक रोएको स्मरण गर्दै बोल्न थालेका थिए– ‘आमा ४२ वर्षको उमेरमा जानुभयो, असाध्यै रोएको थिएँ । त्यसपछि मेयरको टिकट खोसिँदा पार्टी का साथी हरू रोएको देखेपछि मैले पनि आँशु थाम्न सकिनँ र रोएको थिएँ ।’
रुखको सट्टा अरु नै चुनाव चिन्हमा भोट हाल्न पर्दा तेस्रो पटक रोएको उनले सुनाए । ‘अब पार्टी ले रुन नपरोस्, कार्यकर्ताले रुन नपरोस्, देश रुने अवस्था नआओस्’– दिनेशले भने– ‘रुखमा भोट हाल्न चाहने कार्यकर्ता र जनताले रुखमै भोट हाल्न पाउनुपर्छ । यो अवस्था सिर्जना गर्नु केन्द्रीय समितिमा यहाँ उपस्थित हामी सबैको कर्तव्य हो ।’
उनले गत चुनावमा बागी उम्मेदवार नबनेको बताए– ‘मैले पार्टीका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको होइन, म सिद्धान्तत त्यो गठवन्धनको विरुद्धमा थिएँ, पार्टी त्यो विचारमा लाग्न हुँदैन भन्ने मेरो मत थियो । त्यो गठवन्धन गलत सावित भइसकेपछि म विरुद्धको कारवाही फुकुवा भयो । त्यस्तो विचार राख्ने सबैको कारवाही फुकुवा हुनुपर्छ । कारवाही फुकुवा गरेर सभापतिजी तथा पार्टीका नेताहरुले मलाई राजनीतिक रुपमा दोस्रो जन्म दिनुभयो।’
दिनेशले बोलिरहँदा वैठक हलमा सन्नाटा छाएको थियो । दिनेशले ०७४ को चुनावमा कांग्रेसले प्रचण्डको छोरी बोकेको प्रसंगलाई मार्मिक ढंगले उठाउँदै भने ‘मानिसको जीवनमा जस्तै राजनीतिमा पनि अनेक उतार चढाव आइरहन्छ । २०७४ को स्थानीय चुनावमा कांग्रेसले आफ्नो उम्मेदवार म दिनेश कोइरालालाई फिर्ता गराई माओवादीलाई सहयोग गर्ने निर्णय भयो ।’ सभापतिज्यूले उम्मेदवारी फिर्ता गर भन्नुहुँदा मैले जवाफमा भनेको थिएँ– ‘व्यक्तिगत रुपमा म उम्मेदवार रहने कि नरहने भन्ने विषय मुख्य होइन, मैले उम्मेदवारी फिर्ता गर्दा पार्टीलाई दीर्घकालीन दुष्प्रभाव पर्छ । हामीले अहिले माओवादीलाई समर्थन गर्दा भविष्यमा धोका बाहेक केही पाउँदैनौं भनेको थिएँ । साँझ ५ः१५ मा मलाई सभापतिज्यूले फेरि फोन गरेर भाइ तपाईंको उम्मेद्वारी मैले नै फिर्ता गरिदिएँ, बिद्रोह नगर्नु है भन्नुभयो । चितवनमा पार्टीलाई ठूलो बज्रपात भयो, यसले पार्टीलाई क्षति हुन्छ, म बिरोध गर्छु, तर बिद्रोह गर्दिनँ भनें ।’
त्यो स्थानीय चुनावमा माओवादीले कांग्रेसको समर्थन र भोट खर्लप्पै खाएको तर संसदीय चुनावमा धोका दिएर एमालेसँग मिलेको प्रसंग सम्झँदै दिनेशले भने– ‘त्यो धोकाबाट हामीले पाठ सिकेनौं, फेरि पनि धोका दिन्छ भन्ने थाहा पाउँदा पाउँदै फेरि पनि माओवादीसँग मिल्यौं । जसले गर्दा पार्टीको दूरावस्था भयो भने देशको पनि यस्तो गति भएको छ । अब कांग्रेसले कहिल्यै धोका खान हुँदैन । त्यो परिस्थिति निर्माणको जिम्मेवारी यो केन्द्रीय समितिलाई छ ।’
गत आम चुनावको प्रसंग उठाउँदै दिनेशले भने–‘गत संसदीय निर्वाचनमा उम्मेदवार मनोनयन हुने केही दिन अघि बालुवाटारमा पुगेर मैले सभापतिज्यूलाई भनें, प्रचण्ड चितवनबाट उठ्दैनन्, भाग्छन् भने । सभापतिज्यूले प्रचण्ड चितवनमै उठ्छन् भन्नुभयो । मैले प्रचण्ड कुनै हालतमा चितवनबाट उठ्दैनन् भने । सभापतिज्यूले यदि प्रचण्ड उठेनन् भने म भाइलाइ लै टिकट दिन्छु भन्नुभयो । गठवन्धनको सैद्धान्तिक विरोध गरिरहेको छु, त्यसैले मलाई टिकट चाहिँदैन बरु, ३ नम्बरमा उमेश श्रेष्ठलाई टिकट दिनुस् भनेको थिएँ ।’
उनले भने, ‘सभापतिज्यूलाई मैले प्रचण्ड चितवन छाडेर गएपछि हामीले रुखमा भोट हाल्न पाएनौं भने आफ्नो सिमाना क्रस गर्नेछु, यानेकी स्वतन्त्र उम्मेद्वार उठ्नेछु भनेको थिएँ । हामीले सधै माहानगरमा माओवादी बोक्ने, छोरी बोक्ने,बाबु बोक्ने, हुदा हुदा खराउ बोक्ने कहिलेसम्म भनेर सभापतिज्यू समक्ष विरोधको मत राखेको थिएँ । सभापतिज्यूले प्रचण्ड चितवनबाट भाग्ने कुरा विश्वास गर्नु भएन, प्रचण्ड नै उठ्छन् यार भन्नु भयो । मैले जे भने त्यही भयो ।’
दिनेश बोलिरहँदाको अनौठो पक्ष के थियो भने सभापति देउवाले उनलाई बोल्नबाट रोकेनन् । अरु केन्द्रीय सदस्यलाई बोल्न सात मिनेट समय दिइएको थियो तर धाराप्रवाह बोलिरहेका दिनेशलाई देउवाले १३ मिनेट समय दिए । दिनेशको भनाई देउवाले नै ध्यान दिएर सुनिरहेका थिए । अरु केन्द्रीय सदस्य बोल्दा वैठक हलमा थोरैले मात्र ध्यान दिएर सुन्थे, सदस्यहरु आपसमा गफगाफ र हल्ला गरिरहेका हुन्थे तर दिनेश बोल्दा हलमा सियो खस्दा आवाज आउने अवस्था थियो ।
सन्नाटा छाएको हलमा दिनेशले भने– ‘म दावीका साथ भन्छु, आर्थिक, नैतिक रुपमा मलाई कसैले औला ठडाउन सक्दैन । म आर्थिक र नैतिक मामिलामा कहिले पनि चुकेको छैन र भविष्यमा पनि चुक्दिनँ । म अनुशासित मान्छे हो तर गठबन्धनको बिकृत खेल विरुद्ध कठिन र चुनौतीपूर्ण निर्णय लिन बाध्य भएँ । पार्टीका सिनियर नेताहरुलाई कारबाही गरेर सधैं महानगर र चितवन ३ बली चढाउने ? मेरो अन्तर हृदयले मानेन । देशभरीका कार्यकर्ताले माओवादीको झण्डा बोक्नुपर्ने दर्दनाक परिस्थिति विरुद्ध शालिन विद्रोह जरुरी थियो, मैले विद्रोह गरे । विद्रोह गरेर मैले सिमारेखा क्रस गरेकै हो । मेरो विद्रोहलाई जायज ठहराइदिने काम माओवादीले नै गरिदियो । किनभने माओवादीले धोका दियो ।’
विगत केन्द्रीय समितिको वैठकमा दिनेशले चितवनको प्रसंग निकाल्नासाथ सभापति देउवाले रोक्ने गरेका थिए । तर, यसपटक भने मन्त्रमुग्ध भएर सुनिरहे । उनले भने– ‘अघिल्लो वर्ष चैत्र महिनाको पहिलो हप्ता डाक्टर विश्व पौडेल (हालका गभर्नर)ले कल गर्नुभयो सभापतिज्यू सँग भेट्न जाउँ, लिएर आउनु भन्नुभएको छ भन्नुभयो । त्यो दिन भेट्न मिलेन, भोलिपल्ट भानु देउवाजीले ४ बजे आउन खबर गर्नुभयो । त्यही समयमा म पुगेँ, सभापतिज्यूसँग भेट्नासाथ तपाईं रिसाउनु भएको होला तर मेरो पनि चित्त दुखेको छ भनें । सभापतिज्यूले हास्दै भन्नु भयो, रिसाएको छैन छैन, भाइलाई अन्याय भएकै हो, ७४ मा पनि टिकट खोसियो, भाइ मलाई मनपर्ने मान्छे, उहिले सुशील हुँदादेखि नै मन परेको । भाइको भविष्य राम्रो छ, मलाई हिजो गिरिजाबाबुले पार्टीबाट निकाल्दा जुन पीडा भएको थियो, अहिले भाइलाई त्यही पिडा भएको होला । केन्द्रीय सदस्य निरन्तरता दिएको छु, बैठकमा आउनु मलाई सहयोग गर्नु भन्नुभयो । म अरु जिम्मेवारी पनि दिन्छु भन्नुभयो । सभापतिज्यूले तपाईंलाई अन्याय भएको छ भनिदिनु हुँदा मेरो आँखा रसायो । म जीवनमा चौधो पटक रोएको थिएँ ।’
दिनेशले अगाडि भने– ‘मैले कसम खाएको छु, म पदका लागि मात्र राजनीति गर्दिनँ, राजनीति समाज रुपान्तरणको लागि हो, आउने चुनावमा म टिकट माग्न कोही नेताको घर आउने छुइन । तर, रूख चिन्हमा बाहेक अन्त भोट दिनु नपर्ने बनाएर छोड्छू, रुख चिन्हले जित्ने बनाएरै छाड्छु ।’
त्यसपछि दिनेश अहिलेको कारवाहीको प्रसंगमा बोलेका थिए । उनले भने–‘नेपाली कांग्रेसले माओवादीसँग मिलेर चुनाव लड्यो, हाम्रा कैयौ सिनियर नेताहरुलाई कारवाही गरियो । पछि माओवादीले हामीलाई धोका दियो । माओवादीले धोका दिनासाथ कारवाहीको सान्दर्भिकता समाप्त भयो । माओवादीसँग गठवन्धनको विरोध गर्ने साथीहरुलाई कारवाहीको औचित्य रहेन । यो कुरा हामीले बुझ्नुपर्छ । माओवादीसँग गठवन्धन गरेर चुनाव लड्यौं तर डेढ बर्ष पछि देशको नेतृत्व एमालेलाई सुम्पियौं । यो हाम्रो पार्टीको अदुरदर्शिता हो, कमजोरी हो, गल्ति हो, केही ब्यक्ती जित्ने आशामा हाम्रो बिचार हार्यो, पार्टी हार्यो, देश हार्दैछ, यो केन्द्रीय नेतृत्वको गलत कदम थियो, गल्ति केन्द्रले गर्ने अनि तल्लो निकायका साथीहरूलाइँ कारवाही गर्ने ? यो हुनै सक्दैन । पार्टीको आधिकारिक उम्मेदवार वा रूख चिन्ह बिरुद्ध उठेका उम्मेद्वार बाहेक अरु सबैको कारवाही फुकुवा हुनुपर्छ ।’
कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर पुन विरुद्ध माओवादीले गत चुनावमा स्वतन्त्र उम्मेदवार उठाएर जिताएको र पछि मन्त्री समेत बनाएको घटना सुनाउँदै दिनेशले भने– ‘माओवादीले कांग्रेस विरुद्ध गद्दारी गर्यो, कांग्रेसले कसैलाई धोका दिएन । गठवन्धनको विरुद्धमा लाग्ने हामीले पनि भित्री घात गरेनौं, खुला असहमति राख्दै शालिन विद्रोह गरेका थियौं । अमर पुन विरुद्धको घटनाले प्रष्ट पारेको छ, माओवादीले नियतवश गद्दारी गरेको हो ।’
दिनेशले कांग्रेसको उम्मेदवार विरुद्ध बागी बन्ने बाहेक सबैको कारवाही फिर्ता हुनुपर्ने अडान राख्दै भने– ‘व्यक्तिले गल्ती गर्न सक्छ तर पार्टीले गल्ती गर्न हुँदैन । व्यक्तिले विवेक नपुराउन सक्छ तर पार्टीले विवेक गुमाउन हुँदैन । अनुशासन र कारवाहीको विषयमा हामीले कम्युनिष्ट शैली पो अपनाउँदै छौं कि ? आत्मसमीक्षा गरौं ।’
नवलपरासीका विक्रम खनाललाई विनोद चौधरीले कारवाही गराउन खोजेको प्रसंगमा दिनेशको भनाई थियो– ‘विनोद चौधरी नवलपरासीमा हाइपरसोनिक मिसाइल जसरी पुग्नुभयो । त्यहाँका कांग्रेस साथीहरु माझ हाहाकार मच्चियो । कैयन साथीहरुले असन्तुष्टि पनि जनाए । मैले थाहा पाए अनुसार विनोद चौधरीलाई हाइपरसोनिक मिसाइल जसरी अवतरण गराइँदा विक्रम खनाल पनि असन्तुष्ट हुनुहुन्थ्यो । तर, अन्तिममा उहाँले रुख चिन्हधारी विनोद चौधरीलाई नै सहयोग गर्नुभयो । हाइपर सोनिक मिसाइल दागे जसरी टिकट दिएर कसैलाई पठाउने शैली नै गलत हो । तसर्थ, विक्रम खनाल सहितका साथीहरुलाई कारवाही गर्न खोज्नु गलत हो ।’
दिनेश बोलिसकेपछि
केन्द्रीय सदस्य दिनेश कोइरालाले वैठकमा बोलिसकेपछि पनि दुईटा अनौठो दृष्य देखियो । उपस्थित केन्द्रीय सदस्यहरु धेरैले दिनेशसँग हात मिलाउँदै सहि र जायज कुरा बोलेको भन्दै धन्यवाद दिएका थिए ।
योभन्दा अनौठो दृष्य चाहिँ विनोद चौधरीले देखाए । दिनेश बोलिसक्नासाथ उनी आक्रोशित भएर म जवाफ दिन्छु भन्दै माइकतिर लम्किए । तर, वैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले चौधरी विरुद्ध हुटिङ गरेका थिए ।
सामान्यतया पार्टीको गम्भीर वैठकमा आफ्नो पालोमा मात्र बोलिन्छ, अरुको प्रतिवाद ठाउँको ठाउँ गरिँदैन । नेपाली कांग्रेसको यो परम्परा चौधरीले नबुझेको देखियो । त्यही कारण उनी लगभग अपमानित अवस्थामा पुगे ।
विनोद चौधरीका सम्बन्धमा दिनेशले केही गम्भीर प्रश्न उठाएका थिए । अघिल्लो वैठकमा बोल्दा विनोद चौधरीले आफूले दिएको चन्दा चाहिँ लिन हुने तर नेता मान्न चाहिँ नहुने भनेका थिए । उनको त्यो भनाईको काउन्टरमा दिनेशले ककसलाई कति रकम चन्दा दिएको हो, पारदर्शि ढंगले खुल्ला गर्न माग गरेका थिए । त्यसैगरी चौधरीले डा. शेखर कोइरालालाई ‘संकीर्ण’ भनेका थिए ।
चौधरीलाई काउन्टर दिँदै दिनेशले भने– ‘हाम्रो पार्टीमा फरक मत राख्न पाइन्छ, तर शेखर कोइराला कसरी संकीर्ण ? सभापतिका निकट्तम प्रतिस्पर्धीले विगतमा केन्द्रीय समिति वैठक चल्नै दिँदैनथे, सभापतिलाई असहयोग गर्थे । अहिले केन्द्रीय समिति सहज रुपमा चलेको छ, सभापतिजीले पूर्ण सहयोग पाउनुभएको छ । यति उदार नेतालाई के आधारमा संकीर्ण भन्नुभयो ?’
दिनेशको अभिव्यक्ति र त्यसपछि भएको हुटिङको विष्लेशण गर्दै एक केन्द्रीय सदस्यले अनौपचारिक टिप्पणी गरे, ‘दिनेशजीको अभिव्यक्ति र त्यसपछि कांग्रेस केन्द्रीय सदस्यले गरेको हुटिङको गहिरो अर्थ छ । त्यो अर्थ के हो भने अब कारवाहीको डण्डा चलाइने छैन ।’
स्रोत: सुनौलो नेपालबाट











