मकवानपुर । नेपाली कांग्रेसका युवा नेता जगदिश्वर नरसिंह केसी ले हालै सम्पन्न जेन्जि आन्दोलनले देशको राजनीतिक र सामाजिक चेतनामा गम्भीर प्रश्न खडा गरेको बताएका छन् । उनले यो विचार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै राजनीतिक दलहरूको गैरउत्तरदायित्वकै कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गरेका हुन् ।
उनका अनुसार, जनताबाट म्यान्डेट पाएका जिम्मेवार राजनीतिक दलहरू नै आपसी खिचातानी, स्वार्थका लागि बनाइएका अप्राकृतिक गठबन्धन र भ्रष्टाचारमा लिप्त हुनुले देशलाई संकटमा पारेको हो । “भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता हाम्रो पुरानो माग हो, तर दलहरू नै त्यसप्रति संवेदनशील हुन सकेनन्,” केसीले फेसबुकमा लेखेका छन् ।
उनले भाद्र २३ र २४ गते भएको जेन्जि आन्दोलनले नेपालको राजनीतिक अवस्था, सामाजिक चेतना र लोकतान्त्रिक मूल्यहरूमा गहिरो प्रभाव पारेको बताए । तर आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र रक्तपातको उनले कडा निन्दा गरेका छन् । “देशका प्रमुख प्रशासनिक निकाय, सुरक्षा कार्यालय र निजी सम्पत्तिहरूमा भएको विनाश दुःखद छ । के हाम्रो जेन्जि पुस्ता यति अराजक छन्?” उनले लेखेका छन् ।
केसीले भनेका छन्, “मानव जाति चिन्तनशील प्राणी हो भन्ने कुरा हामीले सम्झनु जरुरी छ । यस्तो अराजक व्यवहारले सुनौलो भविष्य निर्माण सम्भव छैन। अहिले हामी सबैले हरेक कदममा अत्यन्त संवेदनशील भएर सोच्नु पर्छ ।”
उनले देशको अखण्डता र नेपाली पहिचान जोगाउन सबै राजनीतिक दल र नागरिक समाज एकजुट हुनु पर्नेमा जोड दिएका छन् । “लोकतन्त्रमा सबैको हक अधिकार समान छन्, आवेगमा कुनै निर्णय गर्नु हुदैन । छानबिन आयोग बनेको छ, त्यसलाई सहयोग गरौं र निष्कर्षपछि दोषीमाथि कारबाही होस्,” उनले लेखेका छन् ।
अन्त्यमा उनले भनेका छन् —
“देशलाई अनिर्णयको बन्दी बनाउने अधिकार कसैलाई छैन । सबै पक्षको सहभागितासहित सर्वपक्षीय गोलमेच सम्मेलन हुनुपर्छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । देश अखण्ड रहोस्, नेपाली पहिचान मेटाउने दुस्साहस कसैले नगरोस् ।”











