जोशमा हैन, होशमा निर्णय गरौं, संस्थागत एकतालाई प्राथमिकता दिऔं- भेटवाल

मकवानपुर । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले देशको बर्तमान परिस्थितिलाई सम्हाल्न विवेक र संस्थागत निर्णयको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार साँझ आफ्ना सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्,

“मुलुक विषम परिस्थितिबीच छ । जोशमा हैन, होशमा अनि आवेगले हैन, बिबेकले निर्णय लिने हाम्रो ऐतिहासिक जग र संस्कारलाई आज आम नागरिक कांग्रेसको भूमिकातर्फ पूर्ण विश्वासका साथ प्रतीक्षारत छन् ।”

भेटवालले देशमा आगामी निर्वाचनको पूर्वसन्ध्यामा पार्टीभित्र एकता र अनुशासन आवश्यक रहेको उल्लेख गर्दै लेखेका छन्,

“हाम्रा नेतृत्वले यी सबै चुनौतीबीचको भावनालाई आत्मसात् गरी एउटा संस्थागत निर्णय लिन सकून् — यही मेरो हार्दिक शुभेच्छा हो ।”

आफू पार्टीको एक सिपाहीको रूपमा सधैं बलियो संगठन निर्माणमा समर्पित रहने प्रतिबद्धता जनाउँदै उनले आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ रूपले लिन आग्रह गरेका छन् ।
उनका शब्दमा,

“आन्तरिक प्रतिस्पर्धाको नाममा अन्तरविरोधले बिखण्डित संगठनको नेता बन्न चाहन्नँ । जे जस्तो अन्तरविरोध रहे पनि संस्थागत राजनीति गर्ने शक्ति हामी सबैमा रहोस् ।”

त्यस्तै, भेटवालले सामाजिक सञ्जालमा पार्टीभित्रका आन्तरिक विवाद र प्रतिस्पर्धालाई सार्वजनिक रूपमा मनोरञ्जन नबनाउन अनुरोध गरेका छन् ।
उनले भनेका छन्,

“कृपया सामाजिक सञ्जालमा हाम्रा आन्तरिक प्रतिस्पर्धा र अन्तरविरोधलाई धेरै मनोरञ्जन नगरौं । यसले हामीलाई स्थापित गर्दैन, थप कमजोर बनाउँछ ।”

अन्त्यमा उनले लोकतान्त्रिक पद्धतिमा समूह र विचारको विविधतालाई लोकतन्त्रको सुन्दर पक्षका रूपमा स्वीकार्दै एकअर्काको सह–अस्तित्वमा सम्मानका साथ अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।

“बन्धुत्व र भातृत्वको हार्दिकताले संसार जित्न सकिन्छ,” उनले लेखेका छन् ।

भेटवालको उक्त स्टाटसलाई सामाजिक सञ्जालमा कांग्रेसका कार्यकर्ताहरूले एकताको सन्देशका रूपमा लिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.