मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई वर्तमान राजनीतिक संकटको घडीमा उच्चतम विवेक र दूरदर्शिता प्रयोग गर्न आग्रह गरेका छन् । उनले पार्टी केन्द्रीय कार्यालयमा इमेलमार्फत पठाएको विस्तृत पत्र सार्वजनिक गर्दै देश, नेपाली कांग्रेस पार्टी र स्वयं सभापति देउवा गम्भीर संकटमा रहेको बताएका छन् ।
कोइरालाले पत्रमा अहिलेको अवस्थालाई “चौपर्फी संकट” को संज्ञा दिँदै यस्तो संवेदनशील समयमा सभापतिको हरेक निर्णय देश र पार्टीका लागि निर्णायक हुने उल्लेख गरेका छन् । “अहिले देश र नेपाली कांग्रेसका लागि हरेक दिन, हरेक घण्टा, हरेक मिनेट र हरेक सेकेन्ड अत्यन्तै महत्वपूर्ण छ,” पत्रमा भनिएको छ । उनले राजनीतिमा हार–जित चुनावी मतगणनाले मात्र निर्धारण नहुने स्पष्ट पार्दै लोकतन्त्रमा विचार, निष्ठा र समयको प्रवाहको सम्मान अपरिहार्य हुने बताएका छन् । समयको प्रवाह रोक्न खोज्दा इतिहास पनि बोकिने र त्यसले गम्भीर संकट निम्त्याउने उनको चेतावनी छ ।
कोइरालाले सभापति देउवालाई पार्टीभित्रको एक पक्षको नेता बन्नु भन्दा माथि उठेर समग्र नेपाली कांग्रेस, लोकतान्त्रिक आन्दोलन र देशकै अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । पार्टीभित्र घेराबन्दी र उक्साहट गर्ने स्वार्थी समूहहरूकै कारण कांग्रेस ठूलो संकटमा फसेको उनको ठहर छ । पत्रमा विगतका लोकतान्त्रिक आन्दोलन, जेल जीवन र विभिन्न कठिन घडीहरूको स्मरण गर्दै कोइरालाले ती समयमा आज सभापतिलाई घेरेर बसेकाहरू साथमा नरहेको उल्लेख गरेका छन् । उनले अहिले पनि सभापति देउवाले सबैलाई समेट्ने अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतन्त्रलाई स्वाभाविक प्रक्रिया भन्दै कोइरालाले विशेष वा नियमित महाधिवेशनसम्बन्धी विवादको जरो पनि यहीँ रहेको बताएका छन्स । सभापतिले मार्ग प्रशस्त गरे पार्टीभित्रको विवाद समाधान हुन सक्ने उनको धारणा छ । पत्रको अन्त्यमा कोइरालाले सभापति देउवालाई आफ्नै र पार्टीको इतिहास बिगार्ने काम नगर्न, वर्तमानलाई धराशायी नबनाउन र नेपाली कांग्रेसको भविष्य सुरक्षित गर्न तत्काल कार्यकर्ता र जनताको आवाज सुन्न आग्रह गरेका छन् ।











