विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन गरौँ- दोलखा सभापति लामा

मकवानपुर । नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले नेपाली कांग्रेसको वर्तमान राजनीतिक अवस्था र संगठनात्मक विवादबारे विस्तृत धारणा सार्वजनिक गरेका छन् । उनले देशको पछिल्लो अस्थिर राजनीतिक परिस्थिति, जेन्जी पुस्ताद्वारा गरिएको प्रदर्शन, र पार्टीभित्रको मतभेदका विषयमा आफ्नो स्पष्ट विचार राख्दै नियमित महाधिवेशनबाटै निकास खोज्न आग्रह गरेका छन् ।

सभापति लामाले आफ्नो वक्तव्यमा भनेका छन् —
“गत भाद्र २३–२४ गते जेन्जि पुस्ताले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, र बन्द गरिएको सामाजिक सञ्जाल खोल्ने मागसहित गरेको प्रदर्शनमा भएको घुसपैठका कारण ठूलो जनधनको क्षति भयो । तत्कालीन ओलि सरकारले राजीनामा दिई अन्तरिम चुनावी सरकार बनेको छ, तर यसको जिम्मेवारी निर्धारण अझै अस्पष्ट छ ।”

उनले उक्त प्रदर्शनमा सहादत प्राप्त महानुभावहरूलाई श्रद्धाञ्जली र घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेका छन् । साथै, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र उनको दम्पतीमाथि भएको आक्रमणको कडा निन्दा गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

बर्मा लामाले कांग्रेस नेतृत्वप्रति पनि आलोचनात्मक टिप्पणी गर्दै भनेका छन्- “देशमा संकटको घडीमा पनि नेपाली कांग्रेसको आधिकारिक धारणा सार्वजनिक नभई आन्तरिक कलहमा रमाउनु निन्दनीय कुरा हो । पार्टी ऐतिहासिक आन्दोलन र लोकतन्त्रको मेरुदण्ड हो, आज पनि यही पार्टीबाट जनताले दिशा खोजिरहेका छन् ।”

उनले हाल पार्टीभित्र चलिरहेको विशेष महाधिवेशन बनाम नियमित महाधिवेशन सम्बन्धी विवादलाई लिएर आफ्नो पक्ष स्पष्ट गर्दै भनेका छन्—

“म नियमित महाधिवेशनको पक्षमा छु । कांग्रेसको विधानको धारा १७(२) अनुसार ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेपछि मात्रै विशेष महाधिवेशन गर्न सकिन्छ । अहिले त्यो प्रक्रिया न त पूरा भएको छ, न त समय अनुकूल छ । आगामी निर्वाचन नजिकिँदै गर्दा अब विशेष महाधिवेशनको बहानामा अलमल गर्नु उचित होइन ।”

सभापति लामाले आगामी २८ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले मंसिर मसान्तभित्रै नियमित महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गर्न सुझाव दिएका छन् । साथै, उनले १५औँ महाधिवेशन तयारी समिति गठन गर्ने र विधान संशोधन समिति बनाएर आवश्यक धाराहरू संशोधन गर्ने प्रस्ताव समेत अघि सारेका छन् ।

उनको भनाइमा,

“केन्द्रीय सदस्य र पदाधिकारीहरू महासमिति सरह भएका कारण संगठनसँग प्रत्यक्ष जिम्मेवारी कमजोर बनेको छ । त्यसैले अबका संरचनाहरू बुथदेखि माथिसम्म निर्वाचित प्रणालीमा आधारित हुनुपर्छ ।”

अन्त्यमा उनले सबै कांग्रेस कार्यकर्तालाई एकताको सन्देश दिँदै भनेका छन् —
“नियमित महाधिवेशन गर्ने तर्फ ध्यान केन्द्रित गरौँ, १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनको रूपमा सफल पारौँ ।
साथै बर्मा लामाको वक्तव्यले नेपाली कांग्रेसभित्र बढ्दै गएको द्वन्द्व र असन्तुष्टिलाई स्पष्ट देखाउँछ । पार्टीको भविष्य र संगठनको दिशा निर्धारणमा उनका सुझावहरू केन्द्रीय नेतृत्वले गम्भीरतापूर्वक लिनु आवश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.