मकवानपुर । नेपाल तरुण दलले मातहतका जिल्लास्तरीय समितिहरूलाई राजनीतिक सक्रियता बढाउन सात बुँदे परिपत्र जारी गरेको छ । संगठनका अध्यक्ष विद्वान गुरुङले मंगलबार जारी गरेको परिपत्रमा वर्तमान राजनीतिक अवस्था र आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभरि व्यापक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ ।
परिपत्र अनुसार पहिलो चरणमा जिल्लामा र्याली, मार्चपास र कोणसभासहितका कार्यक्रम सञ्चालन गरी निर्धारित समयमा निर्वाचन सुनिश्चितताबारे सम्बद्ध निकायहरूको ध्यानाकर्षण गराउने योजना छ ।
यससँगै नागरिक समाज, सुरक्षा निकाय, निर्वाचन कार्यालयका अधिकारी र स्थानीय मतदातासहित सरोकारवालाको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न समितिहरूलाई निर्देशन गरिएको छ । जेनजी पुस्ताका युवालाई पार्टी प्रवेश गराउने अभियान पनि समेटिएको छ, जसले संगठन विस्तार र युवा सक्रियता बढाउने अपेक्षा गरिएको छ ।
शान्ति–सुरक्षा तथा अमनचयनका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जिल्लास्थित प्रशासनमार्फत ध्यानाकर्षण पत्र बुझाउने व्यवस्था पनि परिपत्रमा उल्लेख छ ।
यस बाहेक जिल्लाका मतदातालाई लक्षित सचेतना कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहका विकास परियोजनामा आवश्यक स्थानमा स्वयंसेवक परिचालन गर्ने र पाँचौँ महाधिवेशनको तयारीस्वरूप जारी पूर्ण सदस्यता वितरण अभियानलाई तीव्र बनाउने गरी तरुण दलले मातहतका सबै संरचनालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।











