मकवानपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता जगदीश्वर नरसिंह केसीले हालको राजनीतिक परिस्थिति र पार्टीभित्रको नेतृत्व संकट समाधानका लागि ‘राष्ट्रिय मेलमिलापको नीति’ नै एकमात्र उचित बाटो भएको बताएका छन् । उनले २०३३ सालमा विश्वेश्वर प्रसाद कोइरालाले प्रतिपादन गरेको मेलमिलाप सिद्धान्त आजको नेपाली राजनीति र राष्ट्र दुवैका लागि अझै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।
केसीको सन्देश : “राष्ट्र रहे मात्र लोकतन्त्र रहन्छ”
नेता केसीले सामाजिक सञ्जालमा लेखेका छन् —
“राष्ट्र रहेमा मात्र हाम्रो लोकतन्त्र रहन्छ र तेही लोकतान्त्रिक चौतारीमा सबै राजनीतिक दलहरू रहनेछन् । विभिन्न स्वार्थ समूहहरूको गोटी हुनबाट नेपाल जोगाउन अब राष्ट्रिय मेलमिलापको नीति अबलम्बन गर्नै पर्छ ।”
उनले देशलाई अहिलेको राजनीतिक र वैचारिक ध्रुवीकरणबाट निकाल्नका लागि युवा, नागरिक समाज, बुद्धिजीवी, व्यापारी, पत्रकार, कर्मचारी, सेना र प्रहरी सबैले एकजुट भई देश र लोकतन्त्रको रक्षा गर्नु पर्ने आह्वान गरेका छन् ।
कांग्रेस नेतृत्वलाई चार बुँदे सुझाव
परिमार्जित नेपाली कांग्रेस निर्माणका लागि नेता केसीले पार्टी नेतृत्वलाई चार बुँदे सुझाव दिएका छन् —
1️⃣ १५औं नियमित महाधिवेशन मंसिरमै तोक्ने र वर्तमान केन्द्रीय समितिको म्याद थप नगर्ने ।
2️⃣ १४औं महाधिवेशनका क्रियाशील सदस्यहरू मध्ये मृत्यु वा पार्टी परित्याग गरेका सदस्य हटाई बाँकी सदस्यहरूको नविकरण गरी नयाँ मतदाता नामावली तयार गर्ने ।
3️⃣ वडा र क्षेत्रीय अधिवेशनहरू समयमै गर्ने र तिनैबाट निर्वाचित प्रतिनिधिहरूमार्फत केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने ।
4️⃣ आगामी केन्द्रीय समिति बैठकबाट सर्वसम्मत निर्वाचन समिति गठन गर्ने, जसले वडा देखि केन्द्रसम्म निष्पक्ष अधिवेशन सम्पन्न गर्ने,
र पार्टी सभापतिले “अभिभावकीय भूमिकामा रहँदै सभापतिबाट बहिर्गमन गर्ने”।
राजनीतिक सन्देश
उनले आफ्नो सन्देशमा वर्तमान राजनीतिक संकट र पार्टीगत असन्तुलनबीच बी.पी. कोइरालाको मेलमिलाप सिद्धान्तलाई पुनर्जीवित गर्नु नै अबको मार्ग भएको बताएका छन् । उनका अनुसार, “राष्ट्र र लोकतन्त्र दुबैको अस्तित्व रक्षा गर्न मेलमिलापको बाटो अपरिहार्य” छ ।
पार्टीभित्रको सन्दर्भ
नेपाली कांग्रेसभित्र हाल १५औं महाधिवेशनको समयबारे विवाद चलिरहेका बेला केसीको यो सन्देशलाई संगठनीय सुधार र नेतृत्व हस्तान्तरणको खुला मागका रूपमा लिइएको छ । पार्टीभित्रका धेरै कार्यकर्ताले उनको प्रस्तावलाई “आन्तरिक लोकतान्त्रिक अभ्यास पुनःस्थापनाको माग” भनेर व्याख्या गरेका छन् ।











