राक्सिराङ गाउँपालिका घरघरै पुगेर सेवा दिँदै

मकवानपुर । मकवानपुरको दुर्गम गाउँपालिका राक्सिराङले स्थानीय बासिन्दालाई सरकारी सेवाको पहुँचमा ल्याउन घरदैलोमै पुगेर सेवा दिने अभियान सुरु गरेको छ। ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित ४ नम्बर वडाबाट एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरिएको छ।

गाउँपालिकाले स्वास्थ्य सेवा, कृषि तथा पशुसेवा, व्यवसाय दर्ता, सामाजिक सुरक्षा, शिक्षा अनुगमन लगायतका विविध सरकारी सेवा नागरिककै घरदैलोमा पु-याउने उद्देश्यले यो अभियान ल्याएको हो। गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार, दुर्गम स्थानमा बसोबास गर्ने स्थानीयलाई सहज सेवा दिन र सरकारी सेवाको प्रभावकारिता बढाउन घरमै पुगेर सेवा दिने व्यवस्था गरिएको हो।

शिविरमा एमबिबिएस डाक्टर सहितको टोलीले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ। स्थानीय बासिन्दालाई स्वास्थ्य परीक्षण गरि आवश्यक औषधी वितरण गरिएको छ। साथै, ज्येष्ठ नागरिक, अशक्त व्यक्ति तथा हिँड्न नसक्ने बिरामीका लागि घरमै पुगेर जाँच गरिनुका साथै औषधी पनि वितरण गरिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए।

गाउँपालिकाले कृषि तथा पशुसेवाका कार्यक्रमहरू पनि सञ्चालन गरेको छ। स्थानीय कृषकहरूलाई तरकारीको बिउ तथा पशुका लागि आवश्यक औषधी निःशुल्क वितरण गरिएको छ। यसका साथै, व्यवसाय दर्ता, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र, गरिब घरपरिवार परिचयपत्र वितरण पनि गरिएको छ।

यस शिविरमार्फत खरको छानोमुक्त अभियानलाई पनि अघि बढाइएको छ। खरको छानामा बस्दै आएका परिवारलाई घरमै पुगेर जस्तापाता वितरण गरिएको छ। प्रारम्भिक चरणमा ६ परिवारलाई जस्तापाता वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

शिविरमा स्वास्थ्य परीक्षण, औषधी वितरण, पोषिलो आहार वितरण लगायतका सेवा प्रदान गरिएको छ। २१९ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्, भने २०४ जनाले आयुर्वेद सेवा प्राप्त गरेका छन्। गर्भवती महिलाहरूका लागि भिडियो एक्सरे तथा पोषिलो पीठो वितरण गरिएको छ।

गाउँपालिकाका अध्यक्ष मल्लसहित उपाध्यक्ष वनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला लगायतका जनप्रतिनिधिहरू स्थलगत रूपमा सेवा दिन गाउँ-गाउँ पुगेका थिए। गाउँमै सरकारी टोली पुगेपछि स्थानीय अत्यन्तै खुसी भएका छन्। गाउँपालिकाले आगामी दिनमा पनि घुम्ती सेवा अभियानलाई निरन्तरता दिने योजना बनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.