पहिरोले अवरुद्ध सडक खुलाउन राक्सिराङ–४ का युवा मैदानमा, आफ्नै खर्चमा मर्मत कार्य सुरु

– विरेण लामा लो
राक्सिराङ (मकवानपुर), साउन २०८३ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–४ (साबिक वडा नं. ६) अन्तर्गत रतुवा हुँदै पक्तुङ, ज्यज्युङ, डुम्टार, देविटार, मान्छाप, भोक्टि तथा वडा कार्यालयसम्म जोड्ने मुख्य सडक केही हप्ता अघि परेको लगातार तथा अत्यधिक वर्षाका कारण विभिन्न स्थानमा पहिरो गई क्षतिग्रस्त बनेको छ ।

सडकमा गएको पहिरोका कारण सवारीसाधन सञ्चालन पूर्ण रूपमा प्रभावित भएको छ भने स्थानीयवासीलाई पैदल तथा मोटरसाइकलबाट आवतजावत गर्न समेत निकै कठिनाइ भइरहेको छ । सडक अवरुद्ध हुँदा दैनिक जनजीवन, स्वास्थ्य सेवा, शिक्षा तथा अत्यावश्यक सामग्रीको ढुवानी समेत प्रभावित बनेको छ ।

यही समस्यालाई मध्यनजर गर्दै “आफ्नो गाउँ, आफैँ बनाऔँ” भन्ने भावनालाई आत्मसात् गर्दै गाउँका सम्पूर्ण युवा साथीहरूको साझा सल्लाह र सक्रियतामा JCB प्रयोग गरी सडक मर्मत तथा सरसफाइको कार्य सुरु गरिएको छ ।

सडक मर्मतसँगै विभिन्न स्थानमा कुलेसो, कुलो तथा पानी निकासको उचित व्यवस्थापन गर्ने काम समेत अघि बढाइएको छ । यस कार्यका लागि आवश्यक सम्पूर्ण आर्थिक व्यवस्थापन गाउँका युवाहरूले आफ्नै पहल र सहयोगबाट जुटाइरहेका छन् ।

स्थानीय युवाहरूका अनुसार गाउँका लागि गरिएको यो सानो प्रयासले भोलिका दिनमा सम्पूर्ण गाउँको सहज आवतजावत र उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । उनीहरूले समृद्ध गाउँ निर्माणका लागि सबै गाउँवासीलाई एकताबद्ध भई साथ र सहयोग गर्न समेत आग्रह गरेका छन् ।

स्थानीयस्तरमा युवाहरूको सक्रिय सहभागितामा सुरु भएको यो अभियानलाई गाउँको विकास, सामाजिक एकता र सामूहिक उत्तरदायित्वको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.