मकवानपुर । राक्सिराङ गाउँपालिका–२ कुडुलेस्थित सरिखेत स्वास्थ्य चौकीमा सोमबार साढे एक तले नयाँ भवनको शिलान्यास गरिएको छ । करिब १ करोड १८ लाख २३ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको सो भवनको शिलान्यास गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एक कार्यक्रमका बीच सम्पन्न गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले स्वास्थ्य पूर्वाधार विकास गाउँपालिकाको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै भने–
“पहिले सिटामोल जस्तो सामान्य औषधिको पहुँच नपुग्ने क्षेत्र अहिले स्वास्थ्य संरचना विकासमा अगाडि बढिरहेको छ ।”
मल्लले जीर्ण संरचनामा सेवा दिँदै आएका स्वास्थ्यकर्मीको समस्यालाई नयाँ भवनले समाधान गर्ने बताए ।
“नयाँ भवन बनेपछि स्वास्थ्यकर्मीलाई सेवा दिन अझ सहज हुनेछ । ” सुत्केरी आमा पोषण कार्यक्रमका कारण स्वास्थ्य चौकीमा सेवाग्राहीको संख्या वृद्धि भएको उल्लेख गर्दै मल्लले थपे–
“सुत्केरी आमा पोषण कार्यक्रमले स्वास्थ्य चौकीमा आउनेको संख्या बढेको छ ।”
गाउँपालिकाले निर्धारित अवधिमै निर्माण काम पूरा गर्ने जनाउँदै उनले भने–
“१८ महिनाभित्र भवन निर्माण सम्पन्न गरेर थप स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धता छ ।”
उक्त कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष बुद्धराम मुक्तानको सभाध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, उपाध्यक्ष बनस्तम थिङ, स्वास्थ्य संयोजक विजय कुमार कापरी, महिला तथा बालबालिका शाखा प्रमुख गोमा पन्थी, प्रशासन सहायक पुनम कुमार रुम्बा, वडा सचिव लोकेंद्र ओली लगायत स्थानीयवासी तथा स्वास्थ्यकर्मीको उपस्थिति थियो ।
हाल सरिखेत स्वास्थ्य चौकीले वडा नं. १, २ र ३ का बासिन्दालाई सेवा प्रदान गर्दै आएको छ । राक्सिराङ गाउँपालिकामा ५३ स्वास्थ्यकर्मी कार्यरत छन् । यहाँ ३ स्वास्थ्य चौकी, १ आधारभूत अस्पताल, ६ आधारभूत स्वास्थ्य सेवा केन्द्र, १ आयुर्वेदिक औषधालय र १ सामुदायिक स्वास्थ्य सेवा इकाइ गरी १२ स्वास्थ्य संस्थाबाट सेवा प्रदान भइरहेको छ ।
गाउँपालिकाका अनुसार ९ वडामध्ये वडा नं. १, ७ र ८ मा अझै स्वास्थ्य सेवा पहुँच चुनौतीपूर्ण रहेको छ ।











