राक्सिराङमा भगवान बुद्धको प्रतिमा निर्माणका लागि भूमिपूजा सम्पन्न

राक्सिराङ, मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका अन्तर्गत याङ्ला राक्सिराङ विभूति पार्क परिसरमा निर्माण हुन लागेको भगवान बुद्धको प्रतिमाको आज विधिवत् रूपमा भूमिपूजा (सलङ) तथा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम लामा गुरु शेरब ग्याल्छन लामाबाट धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको हो ।

कार्यक्रममा स्थानीय लामा गुरुहरू, युवा बुद्धिजीवी, समाजसेवी तथा विभिन्न सहयोगी साथीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट अन्तर्गत प्रतिमा निर्माणका लागि रु १० लाख विनियोजन गरिएको जनाइएको छ । सो बजेटबाट बुद्धको प्रतिमा निर्माण गरी विभूति पार्क क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको याङ्ला राक्सिराङ विभूति पार्कका अध्यक्ष केशव थिङले जानकारी दिए ।

साथै अध्यक्ष थिङका अनुसार बुद्धको प्रतिमा निर्माणले धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा स्थानीय पहिचान अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । आयोजक पक्षले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण लामा गुरुहरू, युवा बुद्धिजीवी तथा सहयोगी मित्रहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

त्यस्तै बुद्धको प्रतिमा निर्माण कार्य छिट्टै अगाडि बढाइने र यसले याङ्ला राक्सिराङ पार्क क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.