मकवानपुर । स्थानीय बजारमा दर्ता तथा नविकरणका कागजात जाँच गर्ने र म्याद सकिएका तथा अनियमित रूपमा बिक्री वितरण भइरहेका सामानहरूको अनुगमन गर्ने उद्देश्यले राक्सिराङ नगर प्रहरी टोलीले आज बजार निरीक्षण गरेको छ ।
नगरका विभिन्न पसलहरूमा पुगेर प्रहरीले व्यावसायिक दर्ता, नविकरण, कर तिर्ने अवस्था, खाद्य तथा उपभोग्य वस्तुको म्याद, मूल्य सूची, र स्वच्छता लगायतका पक्षमा विस्तृत रूपमा जाँच गरेको थियो । अनुगमनका क्रममा केही पसलमा कागजी कार्य अझै पुरा गर्न बाँकी रहेको पाइएपछि तत्काल सुधार गर्न सुझावसमेत दिएको प्रहरीको भनाइ छ ।
अनुगमनका क्रममा प्रहरी टोलीले म्याद सकिएका सामान बिक्री नगर्न, दर्ता–नविकरण समयमै पूरा गर्न, र उपभोक्तामैत्री सेवा प्रवाह गर्न व्यापारीहरूलाई आग्रह गरेको छ । व्यवसाय सञ्चालन गर्दा कानुनले तोकेको मापदण्ड पालना नगर्नेहरूविरुद्ध आवश्यक कारबाही गर्ने चेतावनीसमेत दिइएको हो ।
राक्सिराङ नगर प्रहरीका अनुसार यस किसिमका नियमित बजार अनुगमनहरूले उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षणमा ठोस प्रभाव पार्ने र बजारलाई व्यवस्थित गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।
नगर क्षेत्रभरि यस्तो अनुगमन अभियान आगामी दिनहरूमा पनि निरन्तर चलाइने नगर प्रहरी प्रमुख राजकुमार प्रजाले बताए ।











