मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर- ६ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा विद्यालयभित्र राखिएको फलामे जुत्ता र्याक पल्टिँदा एक चार वर्षीय बालक गम्भीर घाइते भएका छन् । गत जेठ ७ गते विद्यालयमा खेलिरहेका बेला उक्त दुर्घटना भएको हो ।
घाइते हुनेमा सोही वडाको सिमरगाउँ निवासी तथा शिशु कक्षामा अध्ययनरत चार वर्षीय बालक एरोन चेपाङ रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार बालबालिका खेलिरहेका बेला अचानक भारी फलामे र्याक पल्टिएर बालकलाई थिचेको थियो ।
घटनापछि विद्यालयका शिक्षक सरोज थापा मगर र वृन्दा लामिछानेको समन्वयमा बालकलाई तत्काल चितवनको भण्डारा अस्पताल पुर्याइएको थियो । तर, अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि भरतपुरस्थित सरकारी अस्पतालमा रिफर गरिएको परिवारले जनाएको छ ।
हाल बालकको भरतपुर अस्पतालको आईसियु कक्षमा उपचार भइरहेको छ । चिकित्सकहरूका अनुसार र्याकले थिचिएका कारण बालकको आन्द्रा, किड्नी, फोक्सो तथा मुटु लगायतका संवेदनशील अंगहरूमा गम्भीर असर पुगेको छ भने शरीरभित्र संक्रमण फैलिएको कारण अवस्था अझै जोखिमपूर्ण बनेको छ ।
उपचाररत बालकका बुबा रामकुमार प्रजाले विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनको चरम लापरवाहीका कारण आफ्नो छोराको ज्यान संकटमा परेको आरोप लगाउनुभएको छ । “घरको ऋण तिर्न श्रीमती वैदेशिक रोजगारीमा हुनुहुन्छ, भएको एउटा मात्र छोरा पनि अहिले जीवन–मृत्युको संघर्षमा छ,” उहाँले भावुक हुँदै भन्नु भयो, “विद्यालयमा बालबालिकाको सुरक्षाप्रति न्यूनतम जिम्मेवारी समेत देखिएन ।”
उहाँले विद्यालयभित्र असुरक्षित संरचना व्यवस्थापन, बालबालिकाको उचित निगरानी अभाव तथा लापरवाहीका कारण यस्तो दुर्घटना भएको दाबी गर्दै दोषीमाथि कानुनी कारबाहीको चेतावनी समेत दिनुभएको छ । “यदि मेरो छोराको स्वास्थ्यमा थप जटिलता आयो भने म अदालतसम्म जान बाध्य हुनेछु,” उहाँले भन्नुभयो ।
यसैबीच विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कमल प्रजाले घटनामा विद्यालय प्रशासन र कर्मचारी पक्षबाट कमजोरी भएको स्वीकार गर्नुभएको छ । उहाँले पीडित परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै बालकको उपचारका लागि आवश्यक आर्थिक तथा मानवीय सहयोग जुटाउन सबै पक्षसँग अपिल गर्नुभएको छ ।
स्थानीयवासीहरूले विद्यालय जस्तो संवेदनशील क्षेत्रमा यस्ता भारी तथा असुरक्षित सामग्री व्यवस्थापन गर्दा पर्याप्त सावधानी नअपनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र विद्यालयहरूमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
हाल एरोन चेपाङको स्वास्थ्य अवस्थालाई लिएर परिवार, आफन्त तथा स्थानीय समुदाय गहिरो चिन्तामा रहेका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारलाई उपचार खर्च जुटाउन समेत कठिन भइरहेको बताइएको छ ।











