हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महत्वपूर्ण चाड ख्रिष्टमसको अवसरमा पुस ९ र १० गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय, शिक्षण संस्थाहरू बिदा रहने जनाएको छ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार, इसाई धर्मावलम्बीहरूको उल्लेख्य जनसंख्या रहेको कारण उनीहरूको धार्मिक पर्वलाई सम्मान गर्दै बिदा दिने निर्णय गरिएको हो। उनले ख्रिष्टमस पर्वले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजमा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्वको भावना अभिवृद्धि गर्ने बताए।
उनले ख्रिष्टमसले बन्धुत्व, प्रेम र समताको भावना फैलाउँदै शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
प्रतिकृया दिनुहोस्











