राक्सिराङमा रैथाने बाली संकलन तथा बिक्री केन्द्र स्थापना

मकवानपुर । राक्सिराङ्गको हिमाली देविटार कृषि सहकारी संस्था लिमिटेडले स्थानीय उत्पादन कृषि उपज तथा रैथाने बाली बिक्री वितरण र संकलन केन्द्र स्थापना गरेको छ । संस्थाको चौथो वार्षिक साधारण सभाको अवसरमा मंगलबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उक्त केन्द्रको उद्घाटन गर्नुभएको हो।

गाउँपालिकाको वडा नं. ८ मा रहेको संस्थाले गाउँघरमै उत्पादित रैथाने कृषि उपजहरुलाई बजारीकरण गर्ने कामको शुरुवात गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले केन्द्रको उदघाटन गर्दै रैथाने बालीको उत्पादन बढाउन आग्रह गर्नुभयो । संकलन केन्द्रमा रैथाने कृषि सामाग्रीको अभाव कहिल्यै हुन नदिनुस उहाँले भन्नुभयो, कृषि उपज उत्पादन भई संकलन गर्न सके निकट भविष्यमै गाउँपालिकाले कृषि एम्बुलेन्स चलाउने अध्यक्ष मल्लको भनाई छ । लोप हुदैँ गएका रैथाने बालीहरुको संरक्षण र उत्पादन बृद्धि गर्न गाउँपालिकाले अनुदानको ब्यवस्था गर्ने उहाँले बताउनुभयो । रैथाने बाली, कृषि उपजहरुलाई बजारीकरणको लागि ब्राण्डिङ्ग गर्दै लैजाने समेत बताउनुभयो ।

गत आर्थिक बर्ष २०७९/८० मा विनियोजित ८ लाख रुपैयाको बजेटबाट ३ कोठाको भवनमा सहकारी संस्थाले रैथाने बाली बिक्री वितरण र संकलन केन्द्र स्थापना गरेको हो । संकलन केन्द्रमा संस्थाले मकैको पिठो, गुन्द्रुक, चिउरीको पिना, घ्यु, वन तरुल, कोदोको पिठो, फापरको पिठो, तोरी, मास, मस्याङ, केरा, गहत, जुनेलो, डोको, मान्द्रो, तामा, पिडालु, सिमल तरुल लगायत २० प्रकारको स्थानीय उत्पादन बिक्रिको लागि राखिएको छ ।

‘हाम्रै गाउँघरमा उत्पादित रैथाने बाली तथा कृषि उपज संकलन गरेर बिक्रिका लागि राखेका छौ’ सहकारी संस्थाका अध्यक्ष राजकुमार स्याङतानले भन्नुभयो । कृषकले उत्पादन गरेको बालीलाई बजार भाउमै गाउँमै खरिद गरि ब्यवसायीकरण गर्ने सहकारीको लक्ष्य छ । मौलिक र रैथाने बालीलाई ठुला ठुला बजारसम्म पुर्याउन पहल समेत भइरहेका छन् ।

कार्यक्रममा वडा नम्बर ८ का युसाई प्रजा, गाउँपालिकाको कृषि शाखाका प्रमुख कृष्ण डुम्रे, वडाका सब इन्जिनियर मनोज प्रजा, राष्ट्रिय जनवकालत मन्च (नाफान) का सन्तोष थापा लगायतको आतिथ्यता रहेको थियो। संस्थालाई गाउँपालिका, राष्टिय जनवकालत मञ्च नाफान लगायत संस्थाले सहयोग समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.