मकवानपुर । हेटौँडामा भेटिएको बेवारिसे शिशुको स्वास्थ्य अवस्था अहिले सुधारतर्फ उन्मुख भएको अस्पताल स्रोतले जनाएको छ । घटनापछि हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ अस्पताल पुगेर शिशुको अवस्थाबारे जानकारी लिएका छन् ।
उपमेयर बानियाँले शिशुको उपचारका लागि उपमहानगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै आवश्यक सबै प्रक्रिया अगाडि बढाइने स्पष्ट गरेका छन् ।
उनले भने, “शिशुको उपचारका लागि हामी पूर्ण रूपमा समर्पित छौँ । आवश्यक सबै चिकित्सा प्रक्रिया थप सुदृढ बनाइन्छ ।”
शिशु भेटिएलगतै हेटौँडा अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । तर अवस्था गम्भीर देखिएपछि चिकित्सकको सल्लाहमा थप उच्चस्तरिय उपचारका लागि शिशुलाई भरतपुर अस्पताल रिफर गरिएको छ ।
उपमेयर बानियाँले अस्पतालमा गएर शिशुलाई आफ्नो काखमा समातेका तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्, जसमा जनताले सकारात्मक प्रतिक्रिया दिएका छन् ।











