राक्सिराङमा किसानको आक्रोश: “गाँजा खेती अपराध होइन, रोजगारी हो”

मकवानपुर | राक्सिराङ क्षेत्रमा अहिले किसानहरू सरकारले गरिरहेको गाँजा फडानी अभियानप्रति कडा असन्तुष्टि जनाइरहेका छन् । स्थानीय किसानहरूले आफूहरूले गाँजा नशाको रूपमा होइन, जीविकोपार्जनको स्रोतका रूपमा लगाएको दाबी गर्दै सरकारको नीतिलाई “किसानमाथिको अन्याय” भनेका छन् ।

सरकारले खेतमा उम्रिएको गाँजाको बोट फडानी गरेपछि गाउँमा तनावपूर्ण अवस्था सिर्जना भएको छ । किसानहरूले भने, “हामी यो देशका मेरुदण्ड हौं, तर सरकारले हाम्रै मेरुदण्ड भाँचिदिएको छ ।”

किसानहरूको भनाइमा गाँजा खेती अपराध होइन, बरु अवसर हो । “हामीले गाँजा नशाका लागि होइन, पेट पाल्नका लागि लगाएका हौं,” एक किसानले भने, “भोकै बस्नु कानुनी हो र ?”

किसानहरूले सरकारसँग माग गरेका छन् —

गाँजा फडानी अभियान तुरुन्त रोकियोस्,

गाँजा खेतीलाई वैधानिकता दिई बजारको व्यवस्था गरियोस्,

स्थानीय किसानलाई वैकल्पिक रोजगारी वा उद्योगसँग जोडियोस् ।

त्यसैगरी किसानहरूले राक्सिराङ क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरू— महेश बर्तौला (एमाले)इन्द्रबहादुर बानियाँ (कांग्रेस)—प्रति पनि प्रश्न उठाएका छन् । “हिजो गरिब तामाङ र चेपाङ समुदायका जनताले भोट दिएर जिताएका नेताहरु अहिले चुप छन् । जनताको पसिना माथि प्रहरीले फडानी गरिरहेको बेला तिनीहरू कहाँ छन् ?” किसानहरूको प्रश्न छ ।

किसानहरूको भनाइमा, संसारका धेरै देशहरूले गाँजाबाट औषधि, तेल, वस्त्र र अन्य उद्योगमार्फत अरबौं आम्दानी गरिरहेका छन्, तर नेपालमा किसानको पसिनालाई अपराध ठहरिएको छ ।

“हामी अपराधी होइनौं,” किसानहरू भन्छन्, “हामीलाई प्रहरी होइन, नीति चाहियो; धम्की होइन, अधिकार चाहियो ।”

किसानहरूले चेतावनी दिएका छन् — “यदि सरकारले आवाज नसुनेमा गाउँ गाउँबाट आन्दोलन सुरु हुनेछ ।”

#गाँजालाई_बैधानिकता_दे
#गाँजा_फडानी_कार्य_बन्द_गर
#राक्सिराङ_अनलाइन

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.