कैलाश गाउँपालिका कोथलिटारमा कक्षा अभाव अन्त्य, दुई कोठे ट्रस भवन सञ्चालनमा

मकवानपुर । कैलाश गाउँपालिका–७ कोथलिटारस्थित कैलाश गाउँपालिका अन्तर्गत रहेको कोथलिटार आधारभूत विद्यालयमा स्थानीय अभिभावकहरूको श्रमदान तथा आर्थिक सहयोगमा निर्माण गरिएको दुई कोठे ट्रस भवनको उद्घाटन गरिएको छ । कक्षा कोठाको अभाव समाधान गर्न समुदायको सक्रिय पहलमा निर्माण गरिएको उक्त भवनको उद्घाटन तथा सहयोगी दाताहरूलाई सम्मान पनि गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर नेगीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भवन औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मुक्तानले चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा विद्यालय क्रमशः प्राथमिक तहबाट आधारभूत तहमा स्तरोन्नति भइसकेको उल्लेख गर्दै आगामी दिनमा माध्यमिक तह (मावि) सम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने आश्वासन दिँदै अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन आग्रह गरे । साथै, उनले शिक्षकहरूलाई पनि जिम्मेवार र लगनशील भएर पठनपाठनमा जुट्नु पर्नेमा जोड दिए ।

त्यसैगरी उनले सामुदायिक एकता, अभिभावकको सक्रियता र स्थानीय तहको सहकार्यबाट मात्रै विद्यालयको दिगो विकास सम्भव हुने बताए ।
कार्यक्रममा विद्यालयका लागि जग्गा दान गर्ने मानबहादुर नेगीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै ट्रस भवन निर्माणमा आर्थिक तथा श्रमदानमार्फत सहयोग पुर्‍याउने विभिन्न दाताहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक सीताराम श्रेष्ठका अनुसार भवन निर्माणका लागि अभिभावकबाट रु. १ लाख ९९ हजार ७०७ र विद्यालयको आन्तरिक स्रोतबाट रु. ६१ हजार ३०० संकलन गरिएको थियो । स्थानीय अभिभावकहरूको श्रमदानबाट दुई कोठे ट्रस भवन सम्पन्न भएपछि हाल कक्षा ५ र ६ को पठनपाठन नयाँ भवनबाट सञ्चालन भइरहेको छ ।

उनका अनुसार विद्यालय स्थापना प्रारम्भिक चरणमा भवन अभावका कारण खरको छानो भएको साधारण घरमा पठनपाठन हुँदै आएको थियो । हाल शैक्षिक सत्र २०८३ देखि कक्षा ६ सञ्चालनमा ल्याइएको विद्यालयमा ईसीडी कक्षादेखि कक्षा ६ सम्म गरी १७० विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ईसीडीमा ३७ र कक्षा ६ मा २१ विद्यार्थी रहेका छन् ।

स्थानीय समुदायको निरन्तर सहयोग, अभिभावकको श्रमदान र स्थानीय तहको प्रतिबद्धतासँगै विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय शिक्षातर्फ अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.