मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको सक्रियतामा प्रतिबन्धित लागुऔषध ट्रामाडोल ८३०० पिस क्याप्सुलसहित पाँच जना युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार, विशेष सूचनाका आधारमा मिति २०८२ कात्तिक २७ गते बिहान करिब १०:०० बजे, हेटौंडा उपमहानगरपालिका– ५ सानो पोखरास्थित खाली जग्गाबाट बिक्री वितरणको तयारीमा रहेका पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका– १२ का १९ वर्षीय अशोक स्याङतान, हेटौंडा– १७ का २० वर्षीय प्रवेश बरैली, हेटौंडा– ४ का २० वर्षीय निशान कोईराला, हेटौंडा– १७ का ३५ वर्षीय बक्सर भन्ने राजिब लामा, र मकवानपुरगढी गाउँपालिका– २ का २३ वर्षीय दिपेश संजेल रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल ८३०० पिस क्याप्सुल, साथै लागुऔषध कारोबारमा प्रयोग भएका ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नम्बरका दुईवटा मोटरसाइकल पनि बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एक प्रहरी अधिकृतले भने,
“लागुऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइएको छ । यसअघि भन्दा कडा निगरानी र सूचनाको संयन्त्रमार्फत यस्तो अभियान निरन्तर जारी रहनेछ ।”











