मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–३ घर भई हाल हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीस्थित डेरामा बस्दै आएका ४५ वर्षीय रामलाल ब्लोनले आफ्नै ४२ वर्षीया श्रीमती ओमकुमारी भुजेलमाथि कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब १०ः३० बजे श्रीमानले श्रीमतीमाथि निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । गम्भीर अवस्थामा रहेकी ओमकुमारीलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा बिहान करिब ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि प्रहरीले आरोपी श्रीमान रामलाल ब्लोनलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।











