मकवानपुर । सिन्धुपाल्चोकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयकी प्रधानाध्यापकमाथि आक्रमण गरी आँखामै चोट पुर्याएको समाचार सार्वजनिक भएको छ । उक्त घटनापछि आरोपित अध्यक्ष गाउँ छोडेर फरार छन् ।
सामाजिक संजालमा सार्वजनिक जानकारी अनुसार, आक्रमणपछि प्रधानाध्यापकलाई आँखामा गम्भीर चोट लागेको छ । उनको उपचार भइरहेको बताइए पनि विस्तृत विवरण सार्वजनिक भएको छैन ।
नेपाल शिक्षक महासंघले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि तत्काल कारबाही गर्न सम्बद्ध निकायहरूलाई आग्रह गरेको छ । महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
“शिक्षक माथि हुने यस प्रकारको हिंसात्मक व्यवहारले सम्पूर्ण शिक्षक समुदायको मनोबलमा असर पारेको छ । घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन सरकार गम्भीर होस् ।”
स्थानीय स्रोतहरूका अनुसार, घटनाले विद्यालयमा पठनपाठन प्रभावित भएको छ । शिक्षक र अभिभावकहरूबीच तनावपूर्ण वातावरण सिर्जना भएको बताइन्छ ।











