मकवानपुर । रास्वपा वरिष्ठ नेता एवं अबकाे केही दिनमा प्रधानमन्त्री बन्न लागेका बालेन्द्र (बालेन) साह र ‘रुटिन अफ नेपाल बन्द (रुटिने)’ का सञ्चालक भिक्टर पौडेलबीचको सम्बन्धमा दरार देखिएको छ । कुनै समय नजिकका सहकर्मी र विश्वासिला पात्रका रूपमा चिनिने यी दुईबीचको सम्बन्ध एकाएक किन चिसियाे भन्ने चासो बढ्दो छ ।
भिक्टरले बालेनलाई काठमाडौं महानगरपालिकाको मेयरमा जिताउन सामाजिक सञ्जालमार्फत ठूलो भूमिका खेलेका थिए । ‘रुटिने’ पेज लामो समयसम्म बालेनको पक्षमा मात्र सामग्री प्रकाशन गर्ने माध्यम बनेको थियो । मेयरमा निर्वाचित भएपछि पनि उनले बालेनसम्बन्धी सकारात्मक सामग्रीलाई प्राथमिकता दिइरहे ।
पछिल्लो समय भिक्टरले सार्वजनिक रूपमा “गुण र दोषका आधारमा सामग्री पोष्ट गर्ने” घोषणा गरेपछि सम्बन्धमा चिसोपन आएको संकेत मिलेकाे हाे । यो सम्बन्ध बिग्रनुको मुख्य कारण झापामा भएको एक घटनासँग जोडिन्छ । फागुन २१ काे चुनावभन्दा केही दिनअघि देशभर चुनावी माहौल चलिरहेका बेला, बालेन आफ्नी श्रीमती सविना काफ्लेसँग काँकडभिट्टास्थित होटलमा थिए । त्यही क्रममा भिक्टरले केही व्यवसायीसँग बालेनको भेट गराउन खोजेका थिए तर ती व्यक्तिहरूको पृष्ठभूमिबारे नकारात्मक कुरा सुनेपछि बालेनले भेट्न अस्वीकार गरेको बताइन्छ ।
आफूले भनेकाे नमानेपछि असन्तुष्ट बनेका भिक्टर त्यसै दिन झापाबाट फर्किएको स्रोतहरू बताउँछन् । त्यसयता दुवैबीचको सम्बन्ध पहिलेको जस्तो नरहेको चर्चा छ । पहिले बालेनको खुला समर्थन गर्दै आएका भिक्टर अहिले आलोचनात्मक दृष्टिकोणमा उत्रिएको देखिन्छ । एक समय सहकार्य र विश्वासमा आधारित सम्बन्ध अहिले दूरी र असन्तुष्टिमा बदलिएको छ ।











