दोषारोपण होइन, सुधार र कार्यान्वयनको समय आएको छ- सह–महामन्त्री डिना

मकवानपुर । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले पार्टीभित्र देखिएका समस्या, चुनौती र सुधारका उपायबारे केन्द्रीय समितिमा धारणा राखेकी छिन् । बैठकको सुरुवातमै उनले सभापति शेरबहादुर देउवाआरजु देउवा माथि भएको सांघातिक आक्रमणको भर्त्सना गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरिन् । भ्रष्टाचार र सुशासनका लागि शान्तिपूर्ण आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति उनले श्रद्धाञ्जलि अर्पण गरिन् ।

पार्टीभित्रको प्रवृत्तिप्रति कडा आलोचना

उपाध्यायले हाल कांग्रेसभित्र मौलाएको व्यक्तिवाद, पद–लोभ र आर्थिक आकर्षणप्रतिको मोहलाई संगठनका लागि घातक बताइन् । उनले भनिन् — “यी प्रवृत्तिहरूले कांग्रेसको ऐतिहासिक मूल्य, आदर्श र जनसेवामूलक चरित्र कमजोर बनाइरहेका छन् ।”

सामाजिक सञ्जाल प्रतिबन्धलाई उनले “गलत निर्णय” भन्दै भनिन् — “नयाँ पुस्ताको भावना र समयको माग बुझ्न नसक्नु नै हाम्रो कमजोरी हो । जेन–जी आन्दोलनले पारदर्शिता र जवाफदेहिताको चेतावनी दिएको छ ।”

“सभापतिमाथि मात्र दोष थोपार्नु अन्याय हो”

सह–महामन्त्री डिनाले जानकारीका अभावमा सभापतिलाई दोष लगाउनु अन्याय भएको बताइन् । उनका शब्दमा — “त्यो बेला निर्णय केही व्यक्तिहरूको सानो घेराभित्र सीमित भयो। अहिले सबै जिम्मेवारी सभापतिमाथि मात्र थोपार्नु सन्तुलित मूल्याङ्कन होइन ।”

डिजिटलीकरणको ठोस प्रस्ताव

उपाध्यायले कृयाशील सदस्यता प्रणालीलाई QR सहितको डिजिटल कार्डमा रूपान्तरण गर्नुपर्ने ठोस प्रस्ताव राखिन् । उनले भनिन् — “म आफैं सह–महामन्त्री हुँ, तर आजसम्म मेरो कार्ड आएको छैन । यो केवल गुनासो होइन, आत्मीयताको संकट हो ।” उनले चाहिन् — “म तयार छु, यो काम म गरेर देखाउन सक्छु। कांग्रेसलाई अब डिजिटलीकरणतर्फ लैजानै पर्छ ।”

“५४% हस्ताक्षर परिवर्तनको संकेत हो”

महाधिवेशन ढिलाइबारे उनले असन्तुष्टि जनाउँदै भनिन् —
“५४% हस्ताक्षरको स्वर केवल नेतृत्व परिवर्तन होइन, नीतिगत सुधार र पुनरावलोकनको संकेत हो । यसको अवहेलना नगरौं, तयारी तत्काल सुरु गरौं ।” उनका अनुसार ढिलाइका कारण भ्रम र असन्तुष्टि बढ्दै गएको छ । “अब दोष खोज्ने होइन, जिम्मेवारी लिन र काम सुरु गर्ने समय हो,” उनले जोड दिइन् ।

आगामी निर्वाचनका लागि स्पष्ट योजना माग

उपाध्यायले पार्टीलाई आगामी निर्वाचनलाई अवसरका रूपमा लिन आह्वान गरिन् । “निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । उम्मेदवार छनोटदेखि नीति र जनसंपर्कसम्म ठोस कार्ययोजना आवश्यक छ,” उनले भनिन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आत्ममूल्यांकन उद्धृत गर्दै उनले थपिन् — “२०७९ को निर्वाचनमा कांग्रेस आफैंका कारणले हारेको थियो। अब ती कारणहरू सच्याउने समय आएको छ ।”

निष्कर्ष : “कांग्रेसलाई फेरि जनविश्वासको केन्द्र बनाऔं”

अन्त्यमा उनले भनिन् — “अब दोषारोपण होइन, सुधार र कार्यान्वयनको समय हो । एकता, पारदर्शिता र सामूहिक उत्तरदायित्वमार्फत कांग्रेसलाई पुनः जनविश्वासको केन्द्र बनाऔं ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.