हेटौंडा । जेसीआई हेटौंडाबाट २०१८ मा सदस्यताको रूपमा सुरु भएको बिकेश लाल श्रेष्ठको नेतृत्व यात्रा अब जेसीआई नेपाल २०२६ का कार्यकारिणी उपाध्यक्षका उम्मेदवारको रूपमा नयाँ मोडमा प्रवेश गरेको छ । सामाजिक सञ्जालमार्फत उनले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।
श्रेष्ठले सामान्य सदस्यबाट सुरु भएको आफ्नो आठ वर्षको अनुभवलाई “नेतृत्व, आत्मविश्वास र संगठनप्रतिको जिम्मेवारीले भरिएको यात्रा” को रूपमा चित्रण गरेका छन् । त्यस क्रममा उनले शाखा तहदेखि लिएर राष्ट्रीय संरचनासम्म महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्। वर्ष २०२४ मा जेसीआई हेटौंडाको अध्यक्ष हुँदा उनी नेतृत्वको शिक्षासँगै संगठनप्रतिको उत्तरदायित्व अझ गहिरो रूपमा बुझ्न पुगेका थिए ।
विगत वर्ष २०२५ का लागि उनलाई जेसीआई नेपालका महासचिवको जिम्मेवारी प्रदान गरिएको थियो, जुन श्रेष्ठका अनुसार “सम्मान मात्र होइन, जिम्मेवारीको ठूलो पाटो” थियो । महासचिवको भूमिकामा रहँदा उनले अभियान सञ्चालन, संगठनभित्रको समन्वय, कार्य संस्कृतिको सुदृढीकरण र टिमवर्कको महत्वलाई नजिकबाट अनुभूत गरेको बताएका छन् ।
श्रेष्ठले भनेका छन्, “हरेक अवसरले मलाई नयाँ दृष्टिकोण दियो, हरेक चुनौतीले अझ दृढ बनायो । यही अनुभव, सीप र प्रतिबद्धताकै आधारमा म २०२६ का लागि कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवार बनेको छु ।उनका अनुसार जेसीआईलाई अझ सुसंगठित, सक्षम र सकारात्मक प्रभाव पुर्याउने संस्था बनाउनु आफूले प्राथमिकतामा राखेको मुख्य लक्ष्य हो । उनले संगठनभरिका सदस्य, नेता तथा पूर्वअधिकारीहरूमाथि विश्वास राख्दै मत, साथ, सुझाव र प्रेरणाको निरन्तर सहयोगको अपिल गरेका छन् ।
उम्मेदवारीसँगै सार्वजनिक भएका तस्बिर र पोस्टरहरूले पनि उनको अभियान औपचारिक रूपमा सुरु भएको संकेत गर्छन् । हेटौंडाबाट जन्मिएको उनको यात्रा अब राष्ट्रिय नेतृत्वको निर्णायक मोडमा उभिएको छ ।











