मकवानपुर । सरकारले हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक क्षेत्रमा गरिएको अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म पर्ने सडक सीमा केन्द्र रेखादेखि २५–२५ गज (७५/७५ फिट) भित्र बनेका स्थायी तथा अस्थायी घरटहरा, व्यवसायिक टहरा, पर्खाल, सटर, ढलान तथा अन्य संरचना तत्काल हटाउन निर्देशन दिएको हो ।
सूचनामा १५ दिनभित्र स्वेच्छाले संरचना नहटाए सरकारले स्वयं बल प्रयोग गरी हटाइने तथा त्यसबाट उत्पन्न खर्च संरचना मालिकबाटै असुल–उपर गरिने चेतावनी दिइएको छ ।
सडक विस्तार, यातायात सहजता र सुरक्षा कारणले अतिक्रमण हटाउने अभियान अघि बढाइएको सडक डिभिजनले जनाएको छ । अधिकारीहरूको भनाइअनुसार पटक–पटक चेतावनी दिए पनि अनेकौं सार्वजनिक तथा निजी संरचनाहरू सडक सीमाभित्रै बनेका कारण महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अत्यन्त जाम र जोखिमपूर्ण बन्दै गएका थिए ।
स्थानीयवासीले भने अचानक आएको अल्टिमेटमले समस्या पनि सिर्जना हुने चिन्ता व्यक्त गरेका छन् । तर सडक विभागले कानुन अनुसार अघि बढेको र अब कुनै पनि अतिक्रमण सह्य नहुने स्पष्ट गरेको छ ।











