मकवानपुरमा स्कारपियो दुर्घटना : चालकसहित चार जना घाइते, एकको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा आज बिहान स्कारपियो दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ६ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो गाडी चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल शाखा बाटोतर्फ खसेको थियो ।

दुर्घटनाको खबर बिहान ६:३० बजे प्राप्त हुनासाथ प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षक कमल खत्रीको कमाण्डमा पाँच जनाको टोली घटनास्थलमा पुगेको थियो । स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा बाराको कलैया उपमहानगरपालिका–२ निवासी ३८ वर्षीय चालक विजय यादव रहेका छन् । उनको हात र खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको छ । त्यस्तै, सवारीधनी कलैया–७ बरेवा निवासी ५० वर्षीय सन्तोषकुमार गुप्ताको छातीमा भित्री चोट लागेको छ । उनकी ४० वर्षीया श्रीमती शोभा गुप्ताको कम्मर र टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १६ वर्षीय अनमोल गुप्ताको दाहिने खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको छ ।

साथै दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.