मकवानपुर । मनहरी पास्टर एसोसिएसनको आयोजनामा मनहरीमा एक विशेष आत्मिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । आत्मिक जागरण, सेवकहरूको एकता र ख्रीष्टिय सन्देशलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेखनीय संख्यामा पास्टर तथा सेवकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सभाध्यक्षता मनहरी पास्टर एसोसिएसनका अध्यक्ष पास्टर नागेन्द्र मुक्तानले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख वक्ता क्यापिटल मिनिस्ट्रीजका एशिया निर्देशक पास्टर कुमार सिंह प्रजा रहनु भएको थियो । उहाँले “प्रभु येशू किन जन्मनु भयो ?” र “वास्तविक क्रिसमस कसरी मनाउने ?” भन्ने विषयमा आधारित रहेर प्रभावशाली तथा आत्मिक प्रवचन दिनुभएको थियो ।
प्रवचनका क्रममा पास्टर प्रजाले क्रिसमस केवल औपचारिक पर्व मात्र नभई, येशू ख्रीष्टलाई हृदयमा ग्रहण गर्नु नै वास्तविक क्रिसमस भएको उल्लेख गर्दै, विश्वास, प्रेम र सेवाको जीवनशैली अपनाउन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पास्टर छवि लाल मुक्तान, पास्टर महिपाल प्रजा, पास्टर सुनिल मुक्तान तथा पास्टर बाबुराम थिङको उपस्थिति रहेको थियो । अतिथिहरूले कार्यक्रमको सफलताको कामना गर्दै आत्मिक सन्देशसहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन पास्टर मिन बहादुर तामाङले गर्नुभएको थियो भने स्वागत मन्तव्य सौल प्रजाले दिनुभएको थियो । कार्यक्रममा करिब १५० जना पास्टर तथा सेवकहरूको सहभागिता रहेको थियो । साथै सहभागीहरूले कार्यक्रम आत्मिक रूपमा अत्यन्तै आशीषपूर्ण, प्रेरणादायी र सन्देशमूलक रहेको प्रतिक्रिया दिएका छन् ।











