मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका– ७ मा आदिवासी जनजाति समुदायको मौलिक पहिचान, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यसहित आदिवासी जनजाति सङ्ग्रहालय स्थापना गरिएको छ । मनहरी गाउँपालिकाले दुई आर्थिक वर्षमा गरी करिब ३५ लाख रुपैयाँ लगानी गरेर बुद्धचोकस्थित हरित पार्क क्षेत्रमा सङ्ग्रहालय भवन निर्माण गरेपछि सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा संस्था दर्ता गरी “एनबोर्गिङ आदिवासी जनजाति सङ्ग्रहालय” औपचारिक रूपमा सञ्चालनमा आएको संस्थापक अध्यक्ष सुकुमलाल मोक्तान ले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न आदिवासी जनजाति समुदायले दैनिक जीवनयापन तथा परम्परागत कामकाजमा प्रयोग गर्ने सामग्री सङ्कलन गरेर सङ्ग्रहालयमा प्रदर्शन गर्न थालिएको छ ।
प्रारम्भिक चरणमा सङ्ग्रहालय प्रत्येक शनिबार खुला रहने व्यवस्था गरिएको छ । सङ्ग्रहालयमा माछा मार्न प्रयोग हुने ढडिया, फुलुङ, मकै पिस्ने जाँतो, गुलेली, पुराना क्यासेट तथा रेडियो सेट, सिडी प्लेयर, हँसिया, फेन्देङ्गोलगायत ऐतिहासिक तथा सांस्कृतिक महत्वका सामग्री राखिएका छन् ।
“प्रविधि र आईटीमा अभ्यस्त नयाँ पुस्ताले आफ्ना मौलिक संस्कृति र इतिहास बारे जान्न सकून् भन्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरेका हौँ,” अध्यक्ष मोक्तानले भन्नुभयो, “स्थानीयवासीले दानस्वरूप दिएका सामग्रीहरू पनि यहाँ सुरक्षित रूपमा राखिएका छन् ।” भविष्यमा सरकारी तथा अन्य निकायबाट थप लगानी जुटाएर अझ धेरै ऐतिहासिक सामग्री सङ्कलन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
पश्चिम मकवानपुरका राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र मनहरी गाउँपालिका क्षेत्रमा चेपाङ, तामाङ, मगर, राई, बनकरिया, बोटे लगायत आदिवासी जनजाति समुदायको उल्लेख्य बसोबास रहेको छ । पछिल्लो समय आफ्नो भाषा, संस्कृति र पहिचान हराउँदै गएको महसुस भएपछि त्यसको संरक्षणका लागि सङ्ग्रहालय स्थापना गरिएको जनजाति अगुवाहरूले बताएका छन् ।











