खुशीको खबर: चट्याङको पुर्वसुचना दिने सेन्सर राक्सिराङमा जडान

मकवानपुर । चट्याङ्ग जन्य प्रकोपबाट जनधनको क्षति न्यूनीकरण गर्न राक्सिराङ गाउँपालिकामा चट्याङ्गको पूर्वसूचना दिने यन्त्र सेन्सर सहितको साइरन स्थापना गरिएको छ । मंगलबार एक विशेष कार्यक्रमका बीच उक्त सामग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

साउथ एशियन लाइट्निङ नेटवर्कका अध्यक्ष तथा अनुसन्धानकर्ता श्रीराम शर्माका अनुसार, दक्षिण एसियामै पहिलोपटक सफल परीक्षणपछि यो यन्त्र राक्सिराङमा जडान गरिएको हो । “यस यन्त्रले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्र चेतावनी दिन सक्छ,” शर्माले बताए । यसअघि नगरकोटमा सफल परीक्षण गरिएको थियो । यो प्रणालीले चट्याङ्ग आउनुभन्दा करिब १६ मिनेटअघि पूर्वसूचना दिने र सर्वसाधारणलाई सुरक्षित स्थानमा जानको लागि सन्देश प्रवाह गर्ने अनुसन्धानकर्ता शर्माले बताए ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ उच्च विपद जोखिमयुक्त क्षेत्र भएकाले यस्तो प्रविधिको अत्यावश्यक रहेको बताउनुभयो । पूर्व जानकारी पाउने व्यवस्था भएपछि हामीलाई चट्याङ्गबाट सचेत गराउन र सुरक्षाका उपाय अपनाउन सहज हुने अध्यक्ष मल्लले बताए । स्थानीय स्तरमा यस प्रविधिको स्थापना हुँदै गर्दा समुदायमा चट्याङ्ग प्रति सचेतना अभिवृद्धि हुने र समयमै सुरक्षित ठाउँ खोज्न सकिने सम्भावना देखिएको अध्यक्ष मल्लले बताए ।

प्राविधिक टोलीले आगामी यथासिघ्र सबै साइरन यन्त्रहरू जडान सम्पन्न गरिने जनाएको छ । वडा नम्बर १ को राम्चे, वडा २ र ३ को भाट्टी, वडा ४ को वडा कार्यालय, वडा ५ को चैनपुरमा मुख्य सेन्सर सहितको साइरन, वडा ६ को सिलिङ्गेको विद्यालय भवन, वडा ७ को गर्लिङ, वडा ८ को पाङ्बुङ र वडा ९ को प्रहरी चौकी कन्द्राङमा साइरन प्रणाली राखिनेछ ।

पिपुल इन निडको आर्थिक सहयोग र साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा एउटा मुख्य सेन्सर र आठवटा साइरन सिस्टम वितरण गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्षहरू तथा प्राविधिक समूहको उल्लेखनीय उपस्थिति रहेको थियो ।
-[ राक्सिराङ खबरबाट]

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.