मकवानपुर, जेठ २८ गते । मकवानपुरको पश्चिम क्षेत्र मनहरीमा सानादेखि ठूला होटेल, कटेज, खाजाघर एवम् रेस्टुरेन्टहरूमा यतिबेला खुलेआम यौनधन्दा हुने गरेको छ । स्थानीय एवम् ग्रामीण भेगको राक्सिराङ र कैलाश गाउँपालिकालाई लक्षित गरी मनहरीको होटल, खाजाघर, कटेज एवम् रेस्टुरेन्टहरूमा खुलेआम यौनधन्दा हुने गरेको स्थानीय स्तरबाट गुनासो आउन थालेको हो ।
मकवानपुरको पश्चिम क्षेत्रमा पर्ने मनहरी बजारबाट अगाडि बढेपछि पुगिने नयाँ बस्ती, सुनाचुरी, डिपार्ट, खैरघारी, भुलचोक, लोथरमा होटेल, खाजा घर, कटेज र रेस्टुरेन्टका बोर्डहरु देखिन्छन् । उक्त स्थान खासै बजार क्षेत्रका रूपमा विकास नभएको यस क्षेत्रमा होटल, लज, कटेज र रेस्टुरेन्टहरु सञ्चालनमा छन् । कटेज तथा खाजा घरको ब्यानरमा सञ्चालित यस्ता होटलमा खुलेआम यौन व्यवसाय भइरहेको पाइन्छ ।
मनहरी गाउँपालिकाको उक्त स्थानहरु यतिबेला यौनधन्दाका कारण डुङ डुङ गनाउन थालेको भन्दै स्थानीयहरुले त्यसको विरोध शुरु गरेका छन् । उक्त स्थानमा खुलेका साना तथा ठूला होटल, लज, रेस्टुरेन्ट, कटेज एवम् खाजाघरहरूले धमाधम यौनधन्दा गराउन थालेपछि स्थानीयहरू आजित बनेका छन् । इलाका प्रहरी कार्यालय मनहरी यो विषयमा किन मौन छन् त्यो नै अचम्मको रहेको स्थानीयहरुको गुनासो छ ।
एक महिनाको रिसर्चपछि राक्सिराङ अनलाइनकर्मी मनहरीको सुनाचुरीस्थित एउटा कटेजमा पुग्दा कटेज साहुनी चिसो पिउदै थिए । ‘साहुनी कफी बन्छ ?’ हाम्रो प्रश्न सुनेर छक्क परेका होटल सञ्चालकले भने, ‘यहाँ त्यस्तो चिया कफी केही पनि बन्दैन ।’ अनि होटेल चलेको छ र ? भने, ठिकै चल्दै छ भन्दै उनले चिसो पिउन थाले ।
केटीहरू हाम्रो सम्पर्कमा हुन्छन्, ग्राहक हेरेर एक हजारदेखि दुई हजारसम्मको शुल्क लिएर हामी बोलाइदिन्छौं’ मनहरीको सुनाचुरीमा कटेज चलाउदै आएका एक साहुनीले भनिन्, ‘हामी ग्राहकसँग पैसा लिएर काउन्टरमा राखिदिन्छौं, काम सकिएपछि केटीलाई दिन्छौं ।’ त्यस्तै उक्त स्थानहरुमा संचालित प्रत्येक होटेल, लज, खाजाघर, रेस्टुरेन्ट एवम् कटेजहरुले ‘युवती राखेर यौन धन्दा व्यवसाय चलाईरहेका छन् ।
साथै उक्त स्थानमा खुलेआम यौन व्यवसाय चलाउदै आएका होटल, लज, रेस्टुरेन्ट, खाजाघर एवम् कटेज सञ्चालकहरूले गाउँमा आफूले तलदेखि माथिसम्म सबै ठाउँमा सेटिङ मिलाइसकेकाले आफूहरूको धन्दामा कसैले बाधा अड्चन गर्न नसक्ने भन्दै धक्कु लगाउँदै हिँड्ने गरेको समाचार स्रोतले बताएको छ ।
मनहरीका खाजाघर, रेस्टुरेन्ट र कटेजहरूले बाहिरबाट सम्पर्क गरी यौनकर्मीलाई बोलाएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरूले आर्थिक लाभ लिनका लागि बाहिरबाट युवती, महिला, किशोरीहरू बोलाएर यौन सम्पर्क गराउने गरेका छन् तर, इलाका प्रहरी कार्यालय मनहरीले त्यसतर्फ खासै ध्यान नदिएको स्थानीयहरुको गुनासो छ ।
पछिल्लो केही समयदेखि मनहरीको नयाँबस्ती, सुनाचुरी, भुलचोक, खैरघारी, डिपार्ट, लोथर लगायतका स्थानहरुमा समस्याका रूपमा यौन व्यवसाय देखा परेको स्थानीय मिलन लामाले बताए । प्रायः गरी दिनमा यौनकर्मीहरू समय तोकेर होटलमा बस्ने र होटल, रेस्टुरेन्ट तथा कटेज सञ्चालकहरूले मोबाइलमार्फत ग्राहक खोजेपछि यौनकर्मी बोलाउने गरेको सामाजिक अगुवाहरूको भनाई छ । त्यस्तै कतिपय ग्राहकहरु नै यौनकर्मी खोज्दै रेस्टुरेन्ट, होटेल कटेजसम्म आवतजावत गर्ने गरेको स्थानीयहरुले बताए ।
साथै कतिपयले त कोठामा नै राखेर ग्राहकसँग मोलमोलाइ गर्ने गरेको पाइन्छ । त्यस्ता ग्राहकहरूले घण्टाको हिसाबमा पैसा दिन्छन् र यस्ता ग्राहकबाट होटल तथा कटेज सञ्चालकलाई मुनाफा हुने गरेको स्थानीयहरूको भनाई छ । मकवानपुरको सुन्दर शान्त मनहरी गाउँपालिका यौन व्यवसायका कारण बदनामी हुन थालेको बुद्धिजीवीहरूको भनाइ छ । उनीहरूले यो गम्भीर समस्यतर्फ प्रशासन एवम् सम्बन्धित निकायहरुले बेलैमा चासो देखाउनु पर्ने बताएका छन् ।










