भिडियो र फोटो खिच्न प्रजिअ श्रेष्ठद्वारा रोक

मकवानपुर, असार १९ गते ।मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसर र आफ्नो कार्यकक्षमा फोटो भिडियो खिच्न रोक लगाएकी छन् । यो बन्देज पत्रकारलाई समेत भएको उनले पत्रकारहरुबीच नै स्पष्ट पारेकी छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर छिर्ने गेट र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही छ ।’ लेखिएको पम्प्लेट टाँसिएको छ । पत्रकारलाई फोटो र भिडियो खिच्न रोक लगाइएको विषयमा ध्यानाकर्षण गर्न गएको पत्रकार महासंघ मकवानपुरको टोलीलाई मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले अनुमति बिना प्रशासनको कुनै पनि गतिविधि खिच्न रोक लगाइएको जवाफ दिएकी छन् । ‘यहाँ धेरै किसिमका मानिसहरु आउँछन्, जे जस्तो पनि बोलिरहेका हुन्छन्, सबै विषयको भिडियो बनाउँदा उनीहरुलाई नै अप्ठेरो हुन सक्छ, त्यसैले मैले नोटिस नै टाँसेर यो विषयमा अनुमति लिनु पर्ने भनेको छु ।’ प्रजिअ श्रेष्ठले भनिन् । उनले फोटो भिडियो खिच्ने विषयलाई संसदसँग तुलना गरेकी छन् ।

‘संसदमा त सबै भिडियो खिच्न पाइन्छ, यहाँ किन नपाइने’ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भनिन् ‘यो कार्यालय संसद जस्तो पनि होइन, त्यहाँ त जिम्मेवार सांसदहरु हुन्छन्, यहाँ जो जस्तो पनि मान्छे आएर जे जस्तो पनि बोलिरहेका हुन्छन्, सबै कुरा खिचेर सार्वजनिक गर्दा भोलि बोल्नै मानिसलाई नै अप्ठेरो हुन्छ, त्यसैले भिडियो खिच्न अनुमति लिनु पर्ने बनाएको हुँ ।’

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालय परिसर र प्रजिअ कार्यकक्षमै फोटो भिडियो खिच्न रोक लगाइएको विषयमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले आश्चार्य प्रकट गरेका छन् । ‘अनुमति लिन पर्ने एरिया कानुनले निर्धारण गर्छ नि, त्यो उहाँहरुले तोक्ने कुरा हैन नि, कुन सिडिओ अफिसमा यस्तो व्यवस्था छ ? प्रधानमन्त्री कार्यालयमा त यो बन्देज छैन ।’ दाहालले भने–‘सिडिओ सापले कुन कानुन अनुसार यो गर्नु भएको हो, त्यसको जवाफ दिनुपर्छ, पत्रकारलाई नै समाचार संकलनमै बाधा हुने गरी यस्तो गर्नु गलत हो ।’

साथै फोटो भिडियो खिच्न अनुमति लिनु पर्ने कार्यालयको गेटमै पम्प्लेट टाँसिएको विषयमा ध्यानाकर्षण गराउँदा प्रजिअ श्रेष्ठले त्यसलाई हटाउने प्रतिवद्धता जनाइन् । ‘कार्यकक्षमा चाहिँ अलाउ गर्दैनौँ, बाहिर मिटिङ हलमा अलाउ गरौँला, बाहिर कतै कहिँ त्यस्तो टाँसिएको भए म निकालौँला ।’ उनले भनिन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.