मनहरी गाउँपालिकाका सुकुम्बासीको सपना फेरि टुट्यो

लालपुर्जाको आशामा बसेकालाई झट्का : “अब पाइएला कि भनेको, आयोगै खारेज भएछ !”

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका सुकुम्बासीहरू फेरि निराश बनेका छन् । वर्षौँदेखि लालपुर्जा (जग्गा स्वामित्व प्रमाणपत्र) पाउने आशामा बसेका उनीहरूको त्यो सपनामा फेरि तुषारापात छाएको हो ।

भूमि समस्या समाधान आयोग खारेज भएको सरकारी निर्णय सार्वजनिक भएपछि गाउँभर असन्तोष र आक्रोश फैलिएको छ । स्थानीय रामलाल तामाङ बताउँछन् — “अब पाइएला कि भन्यौं, तर आयोगै खारेज भएछ रे ! अब हाम्रो अवस्था फेरि पहिले झैँ अनिश्चित भयो ।”

मनहरी गाउँपालिकाका विभिन्न वडामा बसोबास गर्दै आएका सयौँ सुकुम्बासी परिवारहरूले दशकौँदेखि कानुनी रूपमा स्थायी ठेगाना पाउने आशा पालेका थिए । तर आयोग खारेज भएपछि उनीहरूको त्यो सपना फेरि धुलोमा मिलेको छ ।

मकवानपुर सुकुम्बासी आयोगका संयोजक बलराम बलको प्रतिक्रिया
सुकुम्बासी अधिकार आयोग मकवानपुरका संयोजक बलराम बलले भने,
“हामीले यो सरकारबाट न्यायको अपेक्षा गरेका थियौं, तर उल्टै हाम्रो मुद्दा दबाइयो । आयोग खारेज गर्नु भनेको सुकुम्बासीहरूको सपना चकनाचुर पार्नु हो । सरकारसँग अब स्पष्ट नीति र वैकल्पिक संरचना ल्याउन माग गर्छौं ।”

उनले थपे — “यो निर्णयविरुद्ध सुकुम्बासी समुदाय चुप बस्दैन । अधिकारका लागि सडकमा निस्कनु पर्ने अवस्था पनि आउन सक्छ ।”

स्थानीयको पीडा अझै उस्तै
सुकुम्बासी परिवारहरूले अझै पनि लालपुर्जा नपाएकै कारण शिक्षा, स्वास्थ्य, बिजुली, पानी र आवास जस्ता आधारभूत सुविधा पाउन समेत नसकेको बताउँछन् ।
स्थानीय अगुवाहरू भन्छन् — “सरकारले आयोग खारेज गर्नु भन्दा पहिले वैकल्पिक संयन्त्र ल्याउनु पर्‍यौं । अब हाम्रो मुद्दा कसले सुन्छ ?”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.