मकवानपुर । जनताको यातायात सहज होस् भनेर फिल्डमा खटिएका राक्सिराङ गाउँपालिका–६ का वडाध्यक्ष अक्कल बहादुर मोक्तान चढ्ने सरकारी मोटरसाइकल अज्ञात समूहले खोलामा फ्याँकेका छन् ।
आईतबार साँझ करिब ८ बजे धुसाराङस्थित सिमलघाट–झोलुङ्गे पुलनजिक बाटो सफा गर्ने क्रममा बा.प्रदेश–०३–००१ ब ४९० नम्बरको १२५ सिसी टिभिएस बाइक पुलमाथिबाट खोलामा फालिएको अवस्थामा भेटिएको वडाध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।
मोक्तानका अनुसार, “बाटो अफ्ठ्यारो भएको कारण बाइक पुलनजिक राखी २०० मिटर टाढा बाटो सफा गर्न गएको थिएँ । फर्केर आउँदा बाइक हराएको थियो । खोज्दै जाँदा झोलुङ्गे पुल तिर अज्ञात समूह दुई जोर चप्पल छोडेर भागेको देखियो,” उनले बताउनुभयो ।
उनीहरुले प्रयोग गरेको चप्पलको आधारमा अपराधमा संलग्न व्यक्तिहरुको पहिचान चाँडै हुने विश्वास वडाध्यक्षले व्यक्त गर्नुभयो ।
स्थानीय दिपेश थिङले भने, “जनताको सेवामा खटिने जनप्रतिनिधिको सवारी साधनमाथि आक्रमण गर्नु अत्यन्त निन्दनीय कार्य हो । यस्तो अपराधमा जो कोही संलग्न भए पनि उन्मुक्ति मिल्नु हुँदैन,” भन्दै दोषीलाई कारबाहीको माग गर्नुभयो ।
बाइक खोलाबाट स्थानीयको सहयोगमा तानेर निकाल्दा पूर्णरूपमा क्षतिग्रस्त भएको जनाइएको छ । घटनापछि वडाध्यक्ष मोक्तानले सोमबार पनि जनताको काम नछोडी अटोमा चढेर वडाको सम्पर्क कार्यालय पुगेका छन् ।
साथै बिगतमा आमाको काजकिरिया चल्दाचल्दै पनि जनसेवामा खटिएका र बाटोमै अस्वस्थ भई उपचार गर्न पुगेका मोक्तान जनताप्रति समर्पित जनप्रतिनिधि मानिन्छन् । घटनाको कारण र अज्ञात समूहको उद्देश्य हालसम्म सार्वजनिक नभए पनि प्रहरीमा आधिकारिक उजुरी दिइसकिएको वडाध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।











