राक्सिराङ-४ का वडा अध्यक्ष मनहरीमै, ‘जनताको दुःखमा भेटिँदैनन्’ भन्दै आक्रोश

राक्सिराङ । राक्सिराङ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लामो समयदेखि वडा कार्यालयमा नबस्ने र सधैं मनहरी बजारमा बस्ने गरेको भन्दै स्थानीय अगुवाले गम्भीर आरोप लगाएका छन् । जनताको दैनिक प्रशासनिक काम, विपत् र स्वास्थ्य सेवामा जनप्रतिनिधि नभेटिने गरेको भन्दै स्थानीय अगुवा बिस्वराज थिङ्ले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् ।

कार्यक्रममा अध्यक्ष अनुपस्थित, स्थानीय अगुवाको प्रश्न

राक्सिराङ गाउँपालिकाको आयोजना र स्थानीय सरकारको समन्वयमा २०८३ भदौ ३ गते ‘क्षयरोगमुक्त अभियान’ अन्तर्गत समन्वयात्मक तथा अभिमुखीकरण तालिम सम्पन्न भएको छ। राक्सिराङमा सम्पन्न उक्त औपचारिक कार्यक्रममा अध्यक्षता गर्नुपर्ने वडा नं ४ का वडा अध्यक्ष नै अनुपस्थित रहेको स्थानीय अगुवा बिस्वराज थिङ्को भनाइ छ ।

थिङ्ले बुधबार फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘स्थानीय जनप्रतिनिधि हराएको सूचना । आज राक्सिराङ गाउँपालिकाको आयोजना र स्थानीय सरकारको समन्वयमा “क्षयरोगमुक्त अभियान” अन्तर्गत समन्वयात्मक तथा अभिमुखीकरण तालिम औपचारिक रुपमा सम्पन्न भयो ।’ उनी आफू कार्यक्रममा सहभागी भएको तस्बिरसहित उपस्थित भएका थिए ।

वडा कार्यालय नबस्ने, सधैं मनहरी बस्ने

थिङ्ले वडा अध्यक्षप्रति लक्षित गर्दै ‘जनताको समस्या सुन्ने को ? विपतमा खोज्दा जनप्रतिनिधि नभेटिने ?’ भनेर प्रश्न गरेका छन् । उनको आरोप छ, ‘वडा अध्यक्ष वडा कार्यालय नबस्ने, सधैं मनहरी बस्ने । दैनिक सिफारिसदेखि विपतका बेला नागरिकले वडा अध्यक्ष खोज्न मनहरी जानु पर्ने अवस्था छ ।’

जनप्रतिनिधि फिल्डमा नखटिँदा राक्सिराङ-४ का नागरिकले सास्ती भोग्नु परेको उनको भनाइ छ । ‘जनताको जीविका, दैनिक उपभोग्य वस्तुको आवतजावत, विपत् र स्वास्थ्य सेवामा जनप्रतिनिधिको साथ नभए के का लागि ?’ भन्दै उनले जवाफदेहिताको प्रश्न उठाएका छन् ।

व्यक्तिगत खर्चमा बाटो, जनप्रतिनिधि बेखबर रहेको आरोप

‘तपाईंहरुलाई बाटोको सुविधा नभएको हो ?’ भन्दै थिङ्ले जनप्रतिनिधिले विकासमा चासो नदिएको आरोप लगाएका छन् । उनले नेपाली कांग्रेसका वडा सभापति विकास ब्लोन र आफूले व्यक्तिगत खर्चमा डिजेल हालेर वडा कार्यालयसम्मको बाटो खनेको जानकारी दिएका छन् ।

उनका अनुसार हाल वडा नं ८ को टोड्केदेखि चरिमारा गैंजुराडसम्म यातायात सुचारु भएको छ । त्यस्तै देबिटारका स्थानीयले घर-घरमा नुन-तेल खाने पैसा जम्मा गरेर वडा कार्यालयसम्म बाटो बनाएको र पन्जनीबाट वडा कार्यालय जोड्ने बाटो एकजना व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा बनाएको थिङ्ले उल्लेख गरेका छन् ।

‘जनताले आफ्नै खर्चमा बाटो बनाउँदा पनि जनप्रतिनिधि अनुगमन गर्न, धन्यवाद दिनसमेत नआउने ?’ उनको प्रश्न छ ।

राक्सिराङ-१ को घटनामा ‘सम्बेदना समेत प्रकट नगरेको’ आरोप

स्थानीय अगुवा थिङ्ले सबैभन्दा गम्भीर प्रश्न राक्सिराङ वडा नं १ मा भएको घटनालाई लिएर उठाएका छन् । केही दिनअघि परेको अविरल वर्षापछि आएको बाढीले बासुदेव खोलाको बहाव बढेको थियो ।

‘समाजसेवामा लाग्नु भएको भए उता राक्सिराङ वडा नं १ का बालबालिका स्कुलबाट फर्किने क्रममा बासुदेव खोलाले बगाएर कोही उपचाररत छन्, कतिको मृत्युको खबर छ । कोही अझै बेपत्ता छ,’ थिङ्ले लेखेका छन्, ‘त्यहाँ उद्धार त के, सम्बेदना प्रकट पनि गर्न नसक्नु । यहि हो तिमीहरुको लाजनीति ??’

उनले विपत्को बेला जनप्रतिनिधि स्थलगत रुपमा नपुगेको र सामाजिक सञ्जालमार्फत दुःख व्यक्त समेत नगरेको आरोप लगाएका छन् ।

के भन्छन् स्थानीय ?

नाम उल्लेख नगर्ने सर्तमा राक्सिराङ-४ का एक स्थानीयले भने, ‘वडा अध्यक्षलाई भेट्न मनहरी जानुपर्छ । नागरिकता सिफारिस, जन्मदर्ता जस्ता सामान्य कामका लागि पनि हप्तौं कुर्नुपर्छ । बर्खामा बिरामी पर्दा एम्बुलेन्स खोज्न पनि अध्यक्ष भेटिँदैनन् ।’

_यो समाचार स्थानीय अगुवा बिस्वराज थिङ्ले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको स्टाटस, स्थानीयको गुनासो र सार्वजनिक सरोकारको विषयमा आधारित छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.